नख्खु जेलमा विप्लवका ३ केन्द्रीय नेता, को कसरी परे ?

काठमाण्डौं – अहिलेसम्म विप्लव नेकपाका ३ केन्द्रीय नेता एउटै जेलमा परेका छन् । उनीहरुलाई ललितपुरको नख्खु जेलमा राखेका छन् ।
पार्टीका अहिलेसम्म गिरफतार भएकामध्ये हेमन्तप्रकाश वली ‘सुदर्शन’ उच्च तहका नेता हुन् । उनलाई गत चैत्र ८ गते काभ्रेको खानीखोलाबाट गिरफ्तार गरिएको थियो । उनलाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि ३ दिनपछि चैत्र १० गते जेल अर्थात कारागार चलान गरियो । वली पार्टीमा महासचिव विप्लवपछि पाँचौं वरियताका नेता हुन् । पार्टीका विप्लवसहितको तत्कालीन पाँच सदस्यीय स्थायी कमिटी सदस्य हुन् । उनी जनयुद्धका प्रभावशाली नेता रुकुमका हुन् ।
त्यस्तै साउन ४ गते शनिबार मध्यरात काठमाडौंको काँडाघारीबाट गिरफ्तार भएका उपत्यका विशेष ब्यूरो ईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य माइला लामा पनि नख्खु जेलमै छन् । उनलाई साउन ७ मा जेल चलान गरिएको थियो । लामा पनि जनयुद्धका प्रखर नेता र जनवादी गीत÷संगीतकार हुन् ।
यही असोज ७ गते ललितपुरबाट गिरफ्तार भएका उपत्यका विशेष ब्यूरो ईन्चार्ज समेत रहेका अर्का केन्द्रीय सदस्य नविन विश्वकर्मा ‘हितमान’ पनि हिजो बिहिबार नख्खु जेल चलान भएका छन् । उनी पनि जनयुद्धका सक्रिय नेता हुन् । शान्ति प्रक्रियापछि बनेको अन्तरिम सरकारमा राज्यमन्त्री समेत भइसकेका नेता हुन् । उनी कालिकोटका हुन् ।
वली, लामा र विकलाई ‘कर्तव्य ज्यान’ मुद्दामा पुर्पक्षका लागि जेल चलान गरिएको हो । अर्बौं रुपैयाँ कर छलेर राज्यलाई नोक्सानी पुर्याएको नीजि क्षेत्रको मोवाइल फोन सेवा प्रदायिक कम्पनी एनसेलको ललितपुरको नख्खुस्थित मुख्य कार्यालयमा गत फागुन १० मा भएको बम विष्फोटमा जिम्मेवार ठानिएको छ ।
उक्त विष्फोटमा परी लमजुङका सिंहबहादुर गुरुङको मृत्यु भएको थियो । सोही विष्फोटका घटना गराई ज्यान लिने कसुर गरेको जनाउँदै तीनै जनालाई ‘कर्तव्य ज्यान’ मुद्दामा पुर्पक्षका लागि जेल पठाइएको हो । अन्य मुद्दा संगठित अपराध, विष्फोटक पदार्थ, राजद्रोहको अभियोग पनि लगाइएको छ ।
सोही विष्फोटन घटनामा कार्यकर्ता सूर्य भुजेल, डिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्व दमाई, विरबहादुर कठायत, शिव धिमाल पनि नख्खु जेलमा राखिएका छन् । नेता कार्यकर्ता सबैलाई ललितपुर जिल्ला अदालतले जेल चलान गरेको हो । काठमाडौंबाट गिरफ्तार परेको पहिलो संविधान सभाका सभासद् समेत रहिसकेकी धिरेन्द्र उपाध्याय ‘भृकुटी’ पनि नख्खु विष्फोट घटनामा पुर्पक्षका लागि ललितपुर जिल्ला अदालतले साउन १६ मा जेल चलान गरिसकेको छ । उनलाई काठमाडौंको सुन्धरास्थित महिला सेन्टर जेलमा राखिएको छ ।
त्यस्तै पार्टीका तत्कालीन पोलिटब्यूरो सदस्य भरत बम ‘रणवीर’लाई बाँके जिल्ला अदालतले बम विष्फोट र संगठित अपराध अभियोगमा थप अनुसन्धान गर्न साउनमै बाँके कारागार चलान गरिसकेको छ । केन्द्रीय सदस्य बन्धुकुमारी चन्द पनि अहिले राज्यकै नियन्त्रणमा छन् । पछिल्लो पटक उनलाई कैलाली कारागारबाट मुक्त भएलगत्तै गिरफ्तार कञ्चनपुर जिल्ला प्रहरीको हिरासतमा राखिएको छ । उनीमाथि संगठित अपराध र आगजनीको अभियोग लगाइएको छ ।
सरकारले गत फागुन २८ मा विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने घोषणा गरेपछि यताका दिनमा हस्तक्षेप र गिरफ्तारलाई तीव्रता दिइरहेको छ । वार्ताको प्रसंग ओझेलमा परेको अवस्था छ ।