अन्तर्घात की सरकारको अलोकप्रियता ? एकपछि अर्को पराजय व्यहोर्दै नेकपा

काठमाण्डौं – गत संसदीय निर्वाचनमा पराजित भएपछि नेकपा नेता बामदेव गौतमले सांसद बन्ने धेरै रहर गरे । कहिले उनी डोल्पाबाट चुनाव लड्ने इच्छा व्यक्त गर्थे भने कहिले काठमाडौं सातबाट चुनाव लडेर सांसद बन्ने इच्छा व्यक्त गरे । तर उनको प्रयास सफल हुन सकेको थिएन ।
पछिल्लो समय प्रधानमन्त्री ओलीका विश्वास पात्र बन्न सफल नेता गौतमलाई नेकपाले कास्की दुईबाट निर्वाचन लड्न आग्रह गर्यो । तर बामदेव गौतमले सचिवालय बैठकमा आफू कास्की दुईबाट निर्वाचन नलड्ने घोषणा गरे ।
गौतमलाई सांसद बन्ने इच्छा नभएर होइन, उनी पार्टीभित्र हुने अन्र्तघात देखि डराएको नेकपा नेताहरु बताउँछन् । गत संसदीय निर्वाचनमा बाम गठबन्धन नेपाली कांग्रेस भन्दा करिव २८ हजार मतले अगाडि थियो, तर त्यहाँ गौतम करिव आठ सय मतले पराजित बन्न पुगे । त्यसपछि गौतमले आफू अन्र्तघातको शिकार भनेको गुनासो गर्दै आएका छन् ।
त्यही भएर गौतम अहिले कास्कीबाट चुनाव लड्न हच्किएका हुन् । अझ पछिल्लो समयमा सरकारको लोकप्रियता घटेको र नेकपाप्रति जनआकर्षण घटेको अवस्थामा गौतमले फरि अर्को रिस्क लिन नचाहेको नेकपा नेताहरु बताउँछन् ।
पछिल्लो समय भएका केही व्यावसायिक संगठनका निर्वाचनमा भने सत्तारूढ दलनिकट समूह नराम्ररी पराजित भएका छन् । केन्द्रमा मात्रै नभई सातवटा प्रदेशमध्ये ६ वटामा सरकारको नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यावसायिक संगठनहरूले धमाधम पराजय व्यहोरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लादेखि अर्का अध्यक्ष प्रचण्डको गृह जिल्लामा समेत नेकपानिकट व्यावसायिक संगठन पराजित भएका छन् ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लादेखि अर्का अध्यक्ष प्रचण्डको गृह जिल्लामा समेत नेकपानिकट व्यावसायिक संगठन पराजित भएका छन् ।
मंगलबार भएको वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेकपा निकट प्यानल नै पराजित भयो । निर्वाचनमा लोकतान्त्रिक समूहका विष्णुप्रसाद गैरेसहितको प्यानल विजयी भएको छ । नेकपा र संघीय समाजवादी पार्टीनिकट व्यवसायीका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका सरोजकुमार पोखरेल पराजित भए ।
दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भई सत्तारुढ नेकपाले विशाल आकार लिएको अवस्थामा अर्को सत्तारूढ घटक संघीय समाजवादी पार्टीको समेत समर्थनमा साझा प्यानल बनाएको अवस्थामा पोखरेलको टिम पराजित भयो ।
यसअघि, दमकमा भएको उद्योग वाणिज्य संघको निर्वाचनमा नेकपानिकट प्रगतिशित व्यवसायी संगठनले हार व्यहोरेको थियो । भदौको दोस्रो साता भएको निर्वाचनमा प्रगतिशील समूहका विमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिक समूहका गोकुल श्रेष्ठ अध्यक्षमा विजयी भएका थिए ।
अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक समूह विजय हुँदा प्रगतिशील समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० पद जितेको थियो ।
अर्का अध्यक्ष प्रचण्डको गृह जिल्ला चितवनमा पनि नेकपा निकट व्यवसायीले पराजय व्यहोरेका छन् । भदौ अन्तिम साता भएको नेपाल निर्माण व्यवसायी संघ चितवनको चुनावमा लोकतान्त्रिक प्यानलका उमानन्द कँडेल (बाबुराम) ले प्रगतिशीलका छवि गौतमलाई फराकिलो मतले पराजित गरेका थिए ।
यस्तै, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा पनि नेकपा निकट उम्मेदवारले पराजय व्यहोरेका छन् । भदौ तेस्रो साता भएको निर्वाचनमा कांग्रेस निकट खुमबहादुर सुवेदीले अध्यक्ष पदमा प्रगतिशील समूहका अञ्जान थापालाई पराजित गरे ।
वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्षमा पनि कांग्रेसनिकट उम्मेदवार नै विजयी भएका छन् । महासचिव र सचिवमा भने नेकपा निकट उम्मेदावार विजयी भए ।
यसैगरी ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा पनि प्रजातान्त्रिक समूहका उम्मेदवार नै विजयी भए । जेठ अन्तिमतिर भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रकाशनरसिंह राणाले नेकपाका उम्मेदवार अर्जुनलाल प्रधानलाई पराजित गरेका थिए ।
व्यावसायिक संगठनमा आफूनिकट समूहको लगातार पराजयपछि नेकपाभित्र बहस सुरु भएको छ । व्यावसायिक संगठनमा पराजय हुनुको कारण पार्टीभित्र खोज्न थालिएको छ ।
नेकपाले भने पार्टीभित्र अन्तर्घात घटना बढ्न थालेपछि बलियो संगठन र विशास आकार भएपनि धमाधम आफ्ना उम्मेद्वारले पराजित हुनु परेको भन्दै यस्ता विषयमा समीक्षा हुनुपर्ने आवाज उठ्न थालेको छ ।