काठमाण्डौं – राष्ट्रिय मानवअधिकार आयोगले राजधानी काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित ‘संक्रमणकालीन न्याय निकासका लागि अन्तरसंवाद कार्यक्रम’मा हंगामा भएको छ । केहीबेर अघि याे हंगामा भएकाे हाे ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कार्यक्रममा शुरुमै बोलेर निस्केपछि सहभागीहरुले कार्यक्रम हलमा हंगामा मच्चाएका हुन् । भवनको मुख्य हलमा चालू कार्यक्रममा सयौंको संख्यामा हलमा द्वन्द्वकालीन पीडितहरु खचाखच थिए । शुरुमै बोलेर सभापति बाहिरिएपछि पीडितहरुले दर्शकदीर्घबाट विरोध गरेका हुन् । उनीहरुले देउवालाई कार्यक्रमअ अवधिभर बस्नुपर्ने माग गरेका छन् ।

तर देउवा कार्यक्रम हलबाट बाहिरिइसकेका छन् । देउवा दस वर्षे द्वन्द्वका बेलाका सरकारका प्रधानमन्त्री थिए । त्यसबेला प्रहरी, सेनाबाट थुप्रै सर्वसाधारणको ज्यान लिएको भन्दै न्यायको माग गर्दै आइहेका छन् । द्वन्द्वका क्रममा राज्य र विद्रोहीबाट गरी १७ हजार नागरिकले ज्यान गएको तथ्यांक छ ।

‘हामीले पीडा सुनाउनु पर्ने मान्छे हिँडेपछि कसलाई सुनाउने ?’ भन्दै सहभागीहरुले देउवालाई पुनः बोलाउन आयोजकसँग माग गरेका छन् । सिटबाट उठेर उनीहरुले देउवालाई जसरी पनि बोलाउनुपर्ने माग गरेका छन् । कार्यक्रममा सत्तारुढ नेकपामा नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बोलिसकेका छन् भने नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल लगायत बोल्ने क्रममा छन् ।

द्वन्द्व एउटा पक्ष माओवादी शान्ति प्रक्रियामा पछि भएको शान्ति सम्झौताअनुरुप संक्रमणकालीन न्याय निरुपण गर्नुपर्ने कामलाई सरकारले बेवास्ता गरेको भन्दै आलोचना बढेपछि सरकार संक्रमणकालीन न्याय फैसलाकका लागि गठित सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्व नियुक्त गर्ने भन्दै आएपनि त्यो पूरा भएको छैन । यसबाट पीडित थप आक्रोशित बनेका छन् । हलमा अधिकांश द्वन्द्वका पीडित महिलाहरु सहभागी छन् ।

दस वर्षे द्वन्द्वका पीडितलाई राज्य न्याय दिन नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला मानवअधिकार आयोगले सार्वजनिक रुपमा नेताहरुको लागि फोरमको रुपमा बिहिबार कार्यक्रम आयोजना गरेको हो ।