काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध सडकमा उत्रिएको छ । भदौ २४ गते १०६औं बीपी जयन्तीको अवसर पारेर शुरु गरिएको ‘तराई, हिमाल, पहाड जागरण अभियान’को अन्तिम दिन पारेर मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो ।
महंगी, भ्रष्टाचार बढेको, महिला हिंसा, काण्ड, बलात्कार र हत्याका घटना बढेको संविधानको भावना प्रतिकूल विधेयक ल्याएको भन्दै कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको पार्टीले जनाएको छ ।
सरकारले प्रतिपक्षीको आवाज नसुनीकनै जबर्जस्त विधेयक ल्याएर पारित गरेको भन्दै सरकारको चर्को आलोचना गर्दै आइरहेको छ । बाँकेमा सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपाकै कार्यकर्ताले बाँकेमा जिल्ला पार्टी सभापति किरण कोइरालामाथि हात भाँचिने गरी आक्रमण गरेपछि कांग्रेस झनै आक्रमक बन्दै गएको छ ।
आजको प्रदर्शनको नेतृत्व नेता गोपालमान श्रेष्ठ लगायतले गरेका छन् । ‘अधिनायकवादी सरकार चाहिँदैन’ नारा प्रदर्शनकारीले लगाएका थिए । प्रदर्शन काठमाडाैंकाे शान्तिबाटिकाबाट शुरु भएकाे थियाे ।
यस्तै सरकारविरुद्ध प्रदर्शन बाँके, हेटौंडालगायत क्षेत्रमा भएका छन् । प्रदर्शनपछि आयोजित सभामा नेताहरुले सरकार र सरकारको नेतृत्व गरिरहेको नेकपा संविधानलाई खाल्डोमा हाल्ने नियतसाथ अगाडि बढेको बताउँदै संविधान कार्यान्वयनमा जोड दिन कांग्रेसले निरन्तर खबरदारी र नागरिकलाई सचेत गराउने कामबाट पछि नहट्ने बताएका छन् ।