काठमाण्डौं – नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका उपत्यका विशेष ब्युरो इञ्चार्ज नवीन बिके ‘हितमान’ ललितपुरबाट सोमबार राति गिरफ्तार भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले गिरफ्तार गरेको जनाइएको छ । साउन ४ गते शनिबार काँडाघारीमा तत्कालीन ईन्चार्ज माइला लामा गिरप्mतारपछि जेल हालेपछि हितमानलाई ईन्चार्ज बनाइएको थियो ।

लामा ब्यूरो ईन्चार्ज रहँदा हितमान ललितपुर ईन्चार्ज थिए । गिरफ्तारपछि हितमानलाई कुन अवस्थामा राखिएको छ भन्ने बताइएको छैन । भदौ ३१ गते सोही पार्टीका धादिङ ईन्चार्ज बुद्ध गुरुङलाई काठमाडौं आउँदै गर्दा बाटोबाट गिरफ्तारपछि असोज १ गते ब्यूरो ईन्चार्ज हितमानले एक प्रेस विज्ञप्ति जारी गरेर रिहाईको माग गरेदेखि नै प्रहरीले विशेष निगरानीसाथ खोजी गरिरहेको स्रोतको भनाई छ । सोहीबीच उनी गिरफ्तार परेका हुन् ।

बिशेष ब्यूरो इन्चार्ज बनेपछि पहिलोपटक उनले सार्वजनिक रुपमा प्रेस विज्ञप्ति निकालेको त्यो नै भएको बताइन्छ । यसअघिका काठमाडौं जिल्लाका सेक्रेटरी रहेकी धिरेन्द्रकुमारी उपाध्याय ‘भृकुटी’ पनि गत फागुन १० मा भएको एनसेलको मुख्यालय नख्खू विष्फोट कसुरमा जेल परेकी छन् । लामा पनि सोही अभियोगमा पुर्पक्षका लागि जेल परेका हुन् ।

हितमान तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा प्रत्यक्ष संलग्न भएका व्यक्ति हुन् । शान्ति प्रक्रियामा आएपछि प्रचण्डले धोका दिएको भन्दै वैद्य र पछि विप्लव नेतृत्वको नेकपामा केन्द्रीय सदस्य रहेका थिए ।