काठमाण्डौं – हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट)को सार्वजनिक सूचनामा ‘माननीय’ र ‘नेता’लगायतकाे तेजोबध गरिएको छ । माननीय, नेता र राष्ट्रसेवकलाई ‘दबाब’ र ‘भनसुन’को दर्जा दिएर पद र जिम्मेवारीको तेजोबध गरिएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयको कृषि र भेटेरिनरी पाठ्यक्रम चलाउँदै Himalayan College of Agricultural Science and Technology (HICAST) हिकास्टले आफ्नो वेभसाइट hicast.edu.np यही असोज ४ गते भर्नासम्बन्धी सूचना राखिएको छ । सूचनामा पद र कर्तव्यप्रति नै अनास्था फैलाउने किसिमका व्यहोरा समावेश छ । याे कलेज काठमाडाैंकाे कलंकीमा छ । यस कलेज प्रशासनले पदप्रति नै घृणा भाव उत्पन्न गराउने व्यहाेराकाे सूचना प्रकाशित गरिएकाे हाे ।
सूचनामा कृषि संकायमा भर्ना लिइरहेको र भेटेरिनरीमा दशैंपछि मात्र भर्ना लिइने जानकारी दिइएको छ । सूचनामा कृषितर्फ भर्ना गर्ने चाहनेलाई शुरुमा १ लाख ९७ हजार रुपैयाँ कलेजको खाता रहेको बैंकमा रकम जम्मा गर्न भन्दै दुईवटक बैंकको नाम र खाता नम्बरसमेत राखिएको छ ।
तर त्यसै सूचनाको बिचतिर एक अनुच्छेदमा भने ‘पुनश्चः’ सूचना पनि प्रकाशित छ । जसमा कलेजले भर्नाका क्रममा ‘भनसुन’ गर्ने र ‘प्रलोभन’ देखाउने पक्षको नाम र पद खुलासा गरिएको छ । जुन पक्षलाई ‘हैरानी’ र ‘अनावश्यक दुःख’ दिने कित्तामा राखिएको छ । ‘पुनश्चः विश्वविद्यालयको नियमअनुसार प्रदान गरिने छात्रवृत्ति बाहेक यस कलेजले कुनै किसिमको अन्य छुट प्रदान नगर्ने भएकोले छात्रवृत्ति, छुट, आंशिक शुल्क तथा भर्नाको लागि कुनैपनि कर्मचारी, नेता, उच्च पदस्थ कर्मचारी र माननीय लगायतकाबाट भनसुन नगराउनुहुन र कसैको प्रलोभनमा नपर्न समेत यसै सूचनामार्फत जानकरी गराइन्छ’ सूचनामा उल्लेख छ ।
पुनश्च सूचनामा ‘माननीय, नेता, उच्च पदस्थ अधिकारी, कर्मचारी’लाई उक्त कित्तामा राखिएको हो । (हेर्नु सूचना) । सूचनामा छात्रवृत्ति, छुट, आंशिक शुल्क र भर्ना सम्बन्धमा उल्लेखित पक्षलाई भनसुन नगराउन र दबाब नदिन नलगाउन भनिएको छ । ‘माननीय, नेता, उच्च पदस्थ अधिकारी, कर्मचारी’लाई उक्त कित्तामा राखिएको हो । ‘माननीय’ शब्दले सांसद, न्यायाधीशलगायतलाई बुझाउँछ । ‘नेता’ शब्दले राजनीतिक व्यक्तित्वलाई बुझाउँछ । ‘कर्मचारी’ र ‘उच्च पदस्थ अधिकारी’ शब्दले राष्ट्रसेवकलाई जनाउँछ ।
माननीय, नेता, कर्मचारी र उच्च पदका अधिकारी लगायतले भर्नाको भर्ना र शुल्क विषयमा दबाब दिने गरिएकोले दुई वर्षदेखि यस्तो व्यहोरासहितको सूचना राखिएको कलेजका सूचना अधिकारी घनश्याम लुईँटेलले बताए । विभिन्न पद र राष्ट्रसेवक कर्मचारीलाई नै सार्वजनिक रुपमै भनसुन गर्ने र हैरानी दिने कित्तामा राखेर सार्वजनिक सूचना राख्नु आचारसंहिताभित्र पर्छ ? भन्ने जिज्ञासामा सूचना अधिकारी लुँईटेलले भने ‘यो सूचना मैले नै तयार पारेको हुँ, आचारसंहिताले दिन्छ दिँदैन थाहा छैन । कलेजलाई लागेको विषय राख्या हो’ कृषि पाठ्यक्रम योपटक २०औं र भेटेरिनरी १९औं ब्याच भएको उनले जानकारी दिए ।
यसै विषयलाई लिएर प्रतिनिधिसभाका सदस्य एवं सांसद रेखा शर्माले गरिमामय पद वा जिम्मेवारीलाई बद्नाम र अनास्था फैलाउने गरी सार्वजनिक रुपमा सूचना राख्नु आपत्तिजनक कार्य भएको बताइन् । पदमा एकाध खराब व्यक्ति हुन सक्ने तर पद र जिम्मेवारीलाई बद्नामको विषय बनाएर घृणाभाव फैलाउने हर्कत गर्ने छुट कानूनले कसैलाई नदिएको बताइन् । सूचनामा माननीय लगायत जिम्मेवारीलाई गलत तरिकाले अथ्र्याउनु पूर्ण रुपले बेठीक भएको उनको भनाई छ ।
‘कुनै संस्था वा व्यक्तिले गरिमामय पद र कर्तव्यप्रति घृणा र अनास्था फैलाउने काम गर्ने छुट छैन’ सांसद शर्माले भनिन्, हिकास्टले सार्वजनिक सूचनामा जे शब्दावली प्रयोग गर्यो त्यसले गरिमामय पद र जिम्मेवारीप्रति नै घृणा र अनास्था फैलाउने काम गरेको छ । भाषा र शब्दावली गलत प्रयोगप्रति कानून आकर्षित हुने र अनुसन्धान हुनुपर्ने सांसद शर्माको धारणा छ । शर्मा पूर्वसामान्य प्रशासन मन्त्री समेत हुन् ।