काठमाण्डौं – संविधान दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन् । देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई सुख र समृद्धिको मार्गमा अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले संविधान दिवसका अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलव्धि भएको र यसले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको दाबी समेत गरिएको छ ।
सात दशकदेखि बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतन्त्रको अभ्यास गर्ने, राजनीतिक र धार्मिक स्वतन्त्रता भएको, भय र गरिबीबाट मुक्त समाज निर्माण गर्ने नेपाली कांग्रेसको विचार र संकल्प नयाँ संविधानमा दृढताका साथ स्थापित भएको समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संविधानले सबैमा लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माणको मार्ग प्रशस्त गर्ने विश्वास पनि सभापति देउवाले विज्ञप्तिमा गरेका छन् ।