काठमाडौँ नेपालबाट अमेरिका पुगी चिकित्सा पेसामा स्थापित भएका डा. केशव पौडेलले गैरआवासीय नेपालीहरुको संस्था (एनआरएनए)को महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

अमेरिकामै अध्ययन गरेर सम्बन्धित क्षेत्रमा सफलता हासिल गर्ने नेपालीको सूचीमा डा. पौडेलको नाम अग्रस्थानमा आउँछ। उनी पेशागत रुपमा चिकित्सक भनेर मात्र होइन, त्योभन्दा बढी एनआरएन अमेरिकाका लोकप्रिय नेताको रुपमा पनि चिनिन्छन्। उनले एनआरएनए अमेरिकामा दुई कार्यकालको नेतृत्व गरिसकेका छन् ।


अमेरिकाको न्युमेक्सिकोस्थित लबलेस मेडिकल अस्पतालको मेडिकल डाइरेक्टरको रुपमा कार्यरत डा. पौडेल नेपालमा भूकम्प जानेबित्तिकै चिकित्सकको टोली लिएर नेपाल पुग्ने पहिलो चिकित्सक हुन्। त्यतिखेर उनी एनआरएनए अमेरिकाका अध्यक्ष थिए ।

एनआरएनएको महाधिवेशन अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँमा हुन लागेको छ ।

‘चिकित्सक पेशामा रहँदारहँदै एनआरएन अमेरिकामा नेतृत्व गरेको अनुभवको आधारमा अब एनआरएनए आइसीसीलाई विश्वभरिको नेपालीको भावना अनुरुप उदाहरणीय संस्था बनाउन महासचिवको जिम्मेवारीका लागि तयार भएको छु,’ डा. पौडेलले भने ।

बिरामी जाँच्ने कामसँगै चिकित्सकहरुको व्यवस्थापकीय जिम्मेवारी पनि निर्वाह गरिसकेका डा. पौडेलले भने, ‘अमेरिकामा आएर पनि मेडिकलको क्षेत्रमा लिडरसिप लिन खोज्यो भने गर्न सकिन्छ भन्ने लाग्यो। एमबीएपछि एमडी पनि गरेर काम गरेँ। अहिले आफू जस्तै धेरै डाक्टरहरुको सुपरभाइज गर्ने जिम्मेवारी मेरो काँधमा छ, योसँगै प्रवासी नेपाली र नेपालको हितमा सवै व्यवस्थापन गर्ने क्षमता मसँग छ।’

अहिले उनको टिममा ५० जना चिकित्सक कार्यरत छन् । अमेरिकी चिकित्साक्षेत्रमा त्यो पदमा पुग्ने सम्भवत उनी पहिलो नेपाली हुन् ।

एनआरएनए अमेरिकामा डा. पौडेल नेतृत्वको कार्यकालमा नेपालमा भूकम्प जानेबित्तिकै चिकित्सक टोली लिएर नेपालमा उपचार सहयोग गर्नुका साथै आर्थिक सहयोग, बाढीपहिरोलाई आर्थिक सहयोग, अमेरिकामा पहिलो विज्ञ सम्मेलन, 5नेपाली भाषा संस्कृति जगेर्ना गर्न विभिन्न राज्यहरुमा नेपाली पाठशाला खोल्ने कार्य, नेपाली कम्युनिटी सेन्टरका लागि आर्थिक सहयोग, अमेरिकाको मूलधारको राजनीतिमा जानेतर्फ प्रोत्साहनजस्ता महत्वपूर्ण काम गरेका थिए ।

तनहुँ व्यास नगरपालिका ९ सिस्नेरीमा जन्मेका पौडेलले सन २००५ मा न्युयोर्कस्थित मोन्टेफोयरे मेडिकल सेन्टरबाट एमडी गरेका हुन् । सुनी अपस्टेट मेडिकल युनिभर्सिटीमा सहायक प्राध्यापकको रुपमा ४ बर्ष अध्यापन सकेलगत्तै  डा. पौडेल सन २०१० देखि न्यु मेक्सिकोस्थित लबलेस हेल्थ सिष्टम अस्पतालको मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छन् ।