संशोधन नभएसम्म तीनचौथाईको सरकार आएपनि संविधान सफल हुँदैनः भट्टराई

काठमाण्डौं – समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधन नभएसम्म जतिसुकै सुवास छाएको र दीपावली बाल्न फरमान जारी गरेपनि संविधानको जलाउने गतिविधि नरोकिने बताएका छन् ।
प्रतिनिधिसभाको बजेट अधिवेशनको अन्तिम बैठकलाई बिहिबार दलको तर्फबाट भनाई राख्दै अहिलेको संविधान आउनुपूर्व आन्दोलनरत शक्तिबीच भएको शक्ति र सामथ्र्यको आधारमा राज्य पुनरसंरचना गर्ने सहमतिअनुरुप नहुँदा संविधान दिवस नजिकिँदै द्वीप प्रज्वलन र जलाउने दुईथरि आवाज आइरहेको बताए ।
अध्यक्ष डा. भट्टराईले संविधानमा गम्भीर त्रुटी रहेकै कारण विरोधी आवाज बढ्दै गएको बताए । उनले घुमाउरो तरिकाले अहिलेको संघीय संरचनाप्रति नै असन्तुष्ट व्यक्त गरे । अहिलेकै तरिकाबाट सरकार र दलहरु अगाडि बढे विकास र समृद्धिको सपना तुहिएर जाने उनको भनाई छ ।
तेस्रो विश्वबाट अतिविकसित मुलुकको सूचीमा पुगेको सिंगापुरबाट नेपालले धेरै सिक्ने सक्ने बताउँदै बुद्धि बिगारे अफगानिस्तानको हालतमा देश पुग्न सक्नेतर्फ नेता भट्टराईले सरकारको ध्यानाकर्षण गराए ।
सरकारकै गलत निर्णयकै कारण पञ्चायतमा झैं संविधानको दिवस मनाउन फरमान जारी गर्नुपर्ने विचित्र स्थिति आएको नेता भट्टराईको धारणा थियो । नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अरिंगाल’ र ‘बिघिनी’ शब्दले देशलाई हिंसाको बाटोमा लैजाने बिम्ब बोकेको बताए । उनले प्रधानमन्त्रीलाई इमान्दारसाथ मेहनत गरेर जीवन बनाउने ‘मौरी’लाई उदाहरण लिन नसक्ने दुईतिहाईको सरकार नेतृत्वको रुपमा चित्रित गरे ।
चुनावका बेला ठेकेदार र विदेशी एजेन्टबाट पैसा लिएकै कारण सरकारमा पुगेपछि तिनका फाइल च्याप्ने र निर्देशन मान्नुपर्ने दुःखद् अवस्था व्यहोरिनु परेको भनाई संसदको रोष्टमबाट डा. भट्टराईले राखे । ‘ठूला ठेकेदार र एजेन्टसँग हामी चुनावमा पैसा लिन्छौं, सरकारमा पुगेपछि उसैका फाइल र निर्देशन बोक्छौं’ उनलले भने ‘यस्तो तरिकाबाट देशलाई सिंगापुर बनाउने भाषण गरिन्छ, शून्य सहनशीलताको कुरा गरिन्छ ।’
देशको कूल पूँजी २\३ सय ठूला व्यापारी परिवारको हातमा केन्द्रित रहेको भन्दै सरकारको अर्थनीतिले यसलाई झनै प्रश्रय दिएको बताउँदै डा. भट्टराईले ती सीमित ठूला व्यापारी घरपरिवारको हातमा पूँजी रहने नीतिगत संचरना नसच्याएसम्म देश र जनताले विकास र समृद्धि पाउन नसकिने बताए ।