काठमाण्डौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

राजधानीको पद्मकन्या क्याम्पसको ६९औं वार्षिकोत्सवको बुधबार काठमाडौमा उद्घाटन गर्दै सभापति देउवाले लामो संघर्षपछि प्राप्त उपलब्धिको संरक्षण गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

लोकतन्त्रको सुदृढिकरण गर्दै जनचाहना अनुसारको काम गर्ने प्रतिवद्धता राजनीतिक दलले गर्नुपर्नेमा कम्युनिष्ट नेतृत्व सरकार नै लोकतन्त्र र गणतन्त्रलाई समाप्त पार्न लागिपरेको उनले बताए । उनले सरकारका कारण मुलुकमा अराजकता र भ्रष्टाचार मौलाउँदै गएको र विरोध गर्नेहरुलाई दुःख दिइरहेको बताए ।

मानव अधिकारको संरक्षण र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको लागि कांग्रेस प्रतिवद्ध रहेको उनको भनाइ थियो । सभापति देउवाले मुलुकको समृद्धिको लागि महिला र पुरुषमा समानता अनिवार्य रहेको बताए ।