चितवन – सोमबर रातिदेखि परेको वर्षाका कारण अधिकांश खोलामा बाढी आएकाले भरतपुर – माडी – ठोरी सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार माडी नगरपालिका – ९ मा रहेको बगई र घाँगर खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको हो ।

त्यसैगरी माडी नगरपालिका – ८ को खरकट्टा र रिउ खोला पनि बढेका छन् । सडकमा पर्ने अधिकांश खोलामा पानीको बहाव बढेकाले भरतपुर र माडी–ठोरी यातायात बन्द भएको छ ।

माडीमा रहेको खहरे खोलामा पनि बाढी आएकाले आज बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।