विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

काठमाण्डौं – विप्लव नेतृत्वको नेकपाका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले विर्तामोडबाट पक्राउ गरेको छ । विर्तामोड नगरपालिका – ४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट आज (३० भदौ) प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी मिश्रसहित जिल्ला सदस्य टीका पोखरेल रहेका छन् ।
विशेष सूचनाको आधारमा उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीको भनाई छ । पक्राउ परेका नेकपा कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको भनाई छ ।
केही दिनअघि विर्तामोड नगरपालिका – २ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेड र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागत मिश्रले प्रयोग गर्दै आएको गाडीमा बम विस्फोट गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
यस्तै, हुम्लामा पनि सोही पार्टीका एक कार्यकर्तालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । विभिन्न सरकारी कार्यालयमा चन्दा माग गरेको भन्ने सूचनाका आधारमा विप्लव नेकपाको अखिल क्रान्तिकारीका जिल्ला संयोजक उपेन्द्र रावतलाई प्रहरीले पक्राउ गरेको हो ।
रावतको साथबाट आर्थिक सहयोग गरिदिन भन्दै विभिन्न कार्यालयलाई लेखिएको चिठी भेटाएका कारण अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी हुम्लाले जानकारी दिएको छ । ताजाकोट गाउँपालिका – ५ भदौराका रावतलाई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।