विदेशी बुहारी र ज्वाइँलाई नागरिकता दिने कानून यस्तो बन्दैछ

काठमाण्डौं – विदेशी बुहारीलाई ७ वर्षपछि र ज्वाइँलाई १५ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिन मिल्ने कानून ल्याइँदैछ ।
तर नेपाली पुरुषसँग बिहे गरेकी विदेशी बुहारी र नेपाली महिलासँग बिहे गर्ने विदेशी ज्वाइँलाई विवाह गरेको प्रमाणित भएपछि लगत्तै परिचय पत्र दिइनेछ । सो परिचय पत्रका आधारमा उसले नेपाली सामाजिक, आर्थिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउनेछन् ।
सरकार र राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयको तयार पारेको प्रस्तावअनुसार नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउन्को सट्टा सुरुमा वैवाहिक नेपाली परिचयपत्र पाउनेछन् ।
कानूनी अवधि पूरा गरिसकेपछि भने नेपाली नागरिकता दिइनेछ । यसरी नागरिकता लिएको ६ महिनाभित्र पहिलेका मुलुकबाट लिएको नागरिकता वा सो सरहको परिचयपत्र त्याग गर्नुपर्ने व्यवस्था गरिएको छ । यो प्रावधान सुशान समितिले तयार पारेको विधेयकमा राखिएको छ ।
समितिबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि राजपत्रमा सूचना प्रकाशितपश्चात लागू हुनेछ । तर समिति सचिवालयले तयार पारेको प्रावधानमै समितिभित्र एकमत छैन । सर्वसहमति जुटन नसकेमा मत विभाजनबाट टुंग्याउनु पर्नेछ ।
अरू मुलुकको नागरिकता वा परिचयपत्र लिएको भए त्याग्नुपर्ने, असल चालचलन हुनुपर्ने र नेपाल वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न जान्ने हुनुपर्ने पनि सचिवालयद्वारा प्रस्तावित प्रस्तावमा उल्लेख छ ।