काठमाण्डौं – सरकारले आगामी असोज ३ गतेको संविधान दिवस मनाउन सार्वजनिक रुपमा आह्वान गरिरहेको अवस्थाबीच संविधानसँग असन्तुष्ट पक्षहरुले भने डिस्टर्ब गर्ने योजना सुनाएका छन् ।

बुधबार राजधानीमा थरुहट राष्ट्रिय मोर्चासहित ८ वटा संगठनहरुले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्ने संगठनका नेतृत्व वक्ताहरुले सरकारले असन्तुष्ट पक्षको माग सम्बोधन नगरीन संविधान मनाउन गरिएको आग्रह र त्यसदिन गरिने दीपावलीलाई तहसनहस पार्ने चेतावनी दिएका छन् ।

संविधानमा आफ्नो समूदायको माग र अधिकार समेट्न नसकेको भन्दै विरोध गर्दा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा सुरक्षाकर्मी र थरुहट जनताबीच भीषण झडप भएको थियो । झडपबाट एसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको ज्यान गएको थियो । सोही घटनाको अभियोमा थरुहट नेता लक्ष्मण थारु ५२ हप्ता जेल बसेर केही महिनाअघि मात्र छुटेका थिए ।

आजको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेता थारुले थरुहट समूदायलाई पेलेरै जाने सरकारको नियतका कारण अब लडाई सिधासिधा पर्ने र असोज ३ गते कालो दिवसको दिनको रुपमा विभिन्न कार्यक्रम गरेर मनाउने बताए । ‘केपी शर्मा ओली नेतृत्वको सरकार दुईतिहाई बहुमतको दम्भले भरिएको सरकार हो’ उनले भने, आदिवासी जनजाति समूदायलाई अधिकारबाट वञ्चित गरेरै अगाडि बढ्छ भने अब सहेर बसिन्न । सिधा लडाई लड्न तयार छौं ।’ असोज ३ गतेको संविधान दिवसमा गरिने दीपावलीलाई तहसनहस पारेर देखाइदिने उनको चेतावनी छ ।
आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सबै जाति र भाषाको संविधान नभएसम्म संविधानको खुशीयाली नमनाउने बताए । संविधान संशोधन गरेर संविधानलाई सबैको अपनत्व रहेको बनाउन सकिने बाटोलाई सरकारले कुल्चेर हिडेँको आरोप अध्यक्ष बरामले लगाए । संविधान विभेदकारी रहेको उनको भनाई छ ।

असोज ३ मा आफूहरुले मनाउने कालो दिवसमा दमन नगर्न र दुःख नदिन उनले चेतावनी दिए । ‘संविधान दिवसलाई शान्तिपूर्ण रुपमा कालो दिनको रुपमा मनाउँछौं । सरकारले दमन गर्ने नीति लिए जाइलाग्छौं’ उनले भने, ‘हात बाँधेर बस्छन् भनेर सरकारले नसोच्दा राम्रो हुन्छ ।’
भनाई राख्ने क्रममा बरामले ‘टोल–टोलमा राष्ट्रिय झण्डा र घर–घरमा दिपावली’ सरकारको नाराको सट्टा विभेदमा परेकाहरुले ‘टोल–टोलमा कालो झण्डा र घर–घरमा ब्ल्याक–आउट’ नारा तय गरेको जानकारी गराए । कालो दिवस मनाउने संगठनहरुले ‘असोज ३, कालो दिन’ मुख्य नारा तय गरेका छन् ।

भदौ ३० सम्म संघ, प्रदेश, जिल्ला र स्थानीय तहहरूमा अधिकार र सरोकारवालाहरूसँग चरणबद्ध संवाद–छलफल–प्रचारप्रसार र पर्चा वितरण, असोज १ गते सबै तहमा विचार गोष्ठी, असोज ३ गते दिउँसो ३ः०० बजे देशैभर संघ, प्रदेश, जिल्ला र स्थानीय तहहरूमा आ–आफ्नो पहिचानसहितको व्यानर, प्लेकार्डसहित जुलुस–विरोधप्रदर्शन र काठमाडौं उपत्यका विरोध जुलुस र साँझ ७ः००–७ः३० सम्म देशभर ब्ल्याक आउट गर्ने कार्यक्रम पत्रकार सम्मेलनबाट घोषणा गरेका छन् ।

विरोधमा नेपाल अदिवासी जनजाति महासंघ, तराई – मधेस राष्ट्रिय परिषद्, दलित मुक्ति शिल्पी आन्दोलन,राष्ट्रिय जनता पार्टीलगायत ८ वटा संगठन संगठित छन् ।