अन्तिम वाक्य, ‘दम छ, मुख बन्द नगर्नुस्’

एजेन्सी – टर्कीको एक पत्रिकाले हत्या भएका साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा थप नयाँ विवरण प्रकाशित गरेको छ ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको सन् २०१८ को अक्टोबर २ मा हत्या भएको थियो । उनी साउदी सरकारका गम्भीर आलोचक थिए र उनको हत्या टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा भएको हो ।

टर्कीको पत्रिकाले खाशोग्गीको हत्याका बेला रेकर्ड भएको दाबी गरिएको अडियोको विस्तृत विवरण प्रकाशित गरेको हो । टर्कीको सरकारको पक्षमा रहँदै आएको सबाह पत्रिकाले अडियोको ‘ट्रान्स्क्रिप्ट’ प्रकाशित गरेको हो । सो अडियो हत्याका बेलाको रहेको दाबी गरिएको छ र हत्याको केही समयपछि टर्कीको गुप्तचर निकायका अधिकारीले प्राप्त गरेको बताइएको छ ।

प्रकाशित गरिएको ट्रान्स्क्रिप्टमा खाशोग्गीको अन्तिम वाक्य दाबी गरिएको कुरा पनि प्रकाशित छ।

खाशोग्गी बेपत्ता हुनु पूर्व अमेरिकामा बस्दै आएका थिए । आफ्नी टर्किस फियोन्सीसँग विवाहको प्रक्रिया मिलाउनका लागि स्थानबुल पुगेका बेला उनी बेपत्ता भएका थिए । लामो समयसम्म उनको अवस्थाबारे जानकारी भएको थिएन । सुरुमा हत्याबारे जानकारी नरहेको बताएको साउदी सरकारले अन्तर्राष्ट्रिय दबाब बढ्दै गएपछि खराब नियत भएका एजेन्टहरुले हत्या गरेको बताएको थियो ।

खाशोग्गीको हत्यामा साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस) को हात रहेको आरोप छ । उनकै निर्देशनमा खाशोग्गीको हत्या भएको दाबी गरिन्छ । तर साउदी अरेबियाले भने लगातार यो कुरा अस्वीकार गर्दै आएको छ । एमबिएस वा कुनै पनि साउदी राजपरिवारका सदस्याको संलग्नता खाशोग्गीको हत्यामा नरहेको दाबी साउदी अरेबियाको छ । साउदी अरेबियाले खाशोग्गीको हत्यामा संलग्न भएको आरोपमा ११ जना विरुद्ध मुद्दा चलाएको छ ।

टर्किस पत्रिका सबाहले खाशोग्गीका सम्बन्धमा लगातार विस्तृत विवरण प्रकाशित गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनेको छ । उसले यो हप्ता खाशोग्गीको हत्याका सम्बन्धमा दुईवटा विवरण प्रकाशित गरेको छ । पछिल्लो विवरणमा फरेन्सिक विज्ञ, साउदीबाट पठाइएको समूहसहितका जानकारीहरु छन् ।

खाशोग्गी कन्सुलर कार्यालयमा छिर्ने बित्तिकै सशंकित भएको सबाहको रिपोर्टमा उल्लेख छ । त्यहाँ रहेको समूहले उनलाई रियाद फर्किन भनेको तर उनले अस्वीकार गरेको उल्लेख छ । खाशोग्गीको आफ्ना छोरालाई म्यासेज गर्दै गर्दा सो समूहले उनलाई तानेर लगेको पत्रिकाले दाबी गरेको छ ।

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान
खाशोग्गीले आफ्ना हत्यारालाई अन्तिम पटक आफूलाई दम रहेकाले मुख बन्द नगर्न आग्रह गरेको र त्यसपछि बेहोस भएको पत्रिकाले दाबी गरेको छ । सबाहका अनुसार उनको टाउको छोप्ने गरी राखिएको झोलाका कारण खाशोग्गी ‘सफोकेट’ भएका थिए ।

टर्कीले एक वर्षअघि यो अडियो आफूसँग रहेको बताएको थियो । त्यसपछि उसले अडियो अन्तर्राष्ट्रिय समुदायलाई उपलब्ध गराएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितले यो अडियो सुनेको बताइन्छ ।