जनकपुरधाम – सत्ताधारी नेकपाको प्रदेश २ का दुई जिल्लाका पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा हानाहान भएको छ । जहाँ यसअघि प्रदेश २ को ईन्चार्जबाट राजीनामा दिएका प्रभु शाह सहभागी थिए ।

दर्जन संख्यामा नेता कार्यकर्ता घाइते भएका छन् भने एक जनाको टाउको फोडिएको छ । उनी रक्तमुछेल भएका छन् । बर्दिवासस्थित सेवा समितिको हलमा सप्तरी र सिरहाका पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा कुटाकुट भएको प्रहरीले जनाएको छ ।

शपथ ग्रहण कार्यक्रम सुरु हुनुभन्दा अगावै नेतारकार्यकर्ताहरुले नाराबाजी सुरु गर्दै हलभित्रका कुर्सीहरु तोड्फोड गरेका छन् । पार्टीका अध्यक्ष तथा महासचिवले शपथग्रहण स्थगित गर्न निर्देशन दिएपनि अध्यक्ष प्रभु साहसहितकाले चलाउन खोजेपछि झडप भएको थियो । शपथग्रहणमा असन्तुष्ट समूहले नाराबाजी गर्दै कुर्सी तोड्न थालेपछि दुईतर्फी झडप भएको थियो ।

झडपसँगै असन्तुष्ट कार्यकर्ताहरुले अध्यक्ष प्रभु साहलाई हलबाट बाहिर निकालेका थिए । शाह प्रदेश २ का पार्टी ईन्चार्ज हुन् । उनले भूगोलमा असहयोग भएको भन्दै केही हप्ताअघि पदबाट राजीनामा दिएका थिए । तर पार्टी राजीनामा अस्वीकृत गर्दै काममा फर्कन निर्देशन दिएपछि उनी काममा लागेका हुन् ।

हलभित्र भएको झड्पबाट मानवीय क्षति पुग्ने देखिएपछि प्रहरीले लाठी प्रहार गर्दा नेता देवनाथ यादवको टाउको फुटेको बताइएको छ ।


जिल्ला कमिटिमा कहिले सदस्य नै नभएका व्यक्तिलाई जिल्ला सदस्य बनाएको भन्दै सप्तरी, सिरहासहित प्रदेश २ को आठै जिल्लामा विवाद उत्पन्न भएको थियो । यो विवादको समाधान नगरी शपथ ग्रहण गराउन लागेकाले नेतारकार्यकर्ताहरु यसअघि नै असन्तुष्ट बनेका थिए ।


पूर्वमन्त्री उमेश यादवले नेताहरुले आफ्ना चालक, भान्सेलाई पनि सदस्य बनाई पदाधिकारी बनाएको आरोप लगाएका छन् । यादवले सप्तरीको शपथग्रहण सप्तरीमै गरिनुपर्नेमा महोत्तरी ल्याउनुको कुनै अर्थ नभएको बताए । अहिले पार्टीका प्रदेश नेता सुमनराज प्याकुरेल र महेन्द्र पासवान पक्षसँग वार्ता चलिरहेको छ ।

महोत्तरीको बर्दिवासमा प्रदेशका आठै जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण गर्ने कार्यक्रम निर्धारण गरिएकोमा एकाएक मंगलबार सप्तरी र सिरहाका पदाधिकारीहरुको मात्रै शपथ ग्रहण कार्यक्रम राखिएपछि विवादले उग्र रुप लिन पुगेको थियो ।

झडपबाट दर्जनौं संख्यामा प्लाष्टिकको कुर्सी भाँचिएको र टेबुलमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताए ।