आम चुनावको प्रस्ताव दोस्रोपटक अस्वीकृत
एजेन्सी – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा लगातार असफलता प्राप्त गर्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री जोन्सनले आउँदो अक्टोबर १५ मा आम चुनाव गर्ने प्रस्ताव पुनः हाउस अफ कमन्सबाट स्वीकृत हुन सकेन ।
जोन्सनले चाँडो आम चुनाव गर्नका लागि संसदमा लगेको यो दोस्रो प्रस्ताव हो । यसअघि गएको हप्ता बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल ब्रेक्सिट) लाई मार्ग प्रशस्त गर्ने कानून पारित गराउने प्रयासमा असफल भएका प्रधानमन्त्री जोन्सनले लगत्तै आम चुनावको प्रस्ताव गरेका थिए । त्यस बेला पनि उनको प्रस्ताव स्वीकृत हुन सकेको थिएन ।
चुनाव सम्बन्धी प्रस्ताव पारित हुन दुई तिहाई सांसदको मत अर्थात ४३४ मत चाहिन्छ । तर जोन्सनले ल्याएको प्रस्तावको पक्षमा २९८ सांसदले मत दिए । विपक्षमा ४६ मत परेको छ । बाँकी सांसद मतदानको प्रक्रियामा सहभागी नै भएनन् । गएको हप्ता प्रधानमन्त्री जोन्सनले चुनावका लागि गरेको प्रस्तावको पक्षमा २९८, विपक्षमा ५६ र मत नदिने सांसदको संख्या २८८ थियो ।
सत्तारुढ पक्ष ट्रोयका केही सांसद तथा विपक्षी सांसदले आफूले ल्याएको नो–डिल ब्रेक्सिट सम्बन्धी विधेयक पारित हुन नदिएपछि प्रधानमन्त्री जोन्सनले आम चुनावको प्रस्ताव संसद (हाउस अफ कमन्स) मा पेश गरेका हुन् । तर त्यो प्रस्ताव पनि दुईपटक असफल भएको हो ।
बेलायत युरोपियन युनियन (इयु) बाट बाहिरिने हालको समय सीमा अक्टोबर ३१ हो । सो अवधिमा बिना सम्झौता नै भए पनि बेलायत इयुबाट अलग हुने सम्बन्धी कानून बनाउनका लागि ल्याइएको विधेयकको पक्षमा गएको हप्ता ३०१ तथा विपक्षमा ३२८ मत परेको थियो ।
संसदमा आफूले ल्याएको विधेयक असफल भएपछि प्रधानमन्त्री जोन्सनले आम चुनाव नै उत्तम विकल्प रहेको भन्दै आएका छन् । तर विपक्षी लेबर पार्टीले बिना सम्झौताको ब्रेक्सिटका लागि बाध्य पार्न प्रधानमन्त्री जोन्सनले कपटी खेल खेलिरहेको आरोप लगाउँदै आएको छ ।
अब पाँच हप्ताका लागि बेलायती संसद निलम्बित हुँदैछ । प्रधानमन्त्री जोन्सनले नै संसद निलम्बनको प्रस्ताव गरेका थिए र महारानीले त्यसलाई स्वीकृत गरेकी थिइन् ।
पाँच हप्ताको निलम्बनपछि फर्किए लगत्तै संसदले आउँदो अक्टोबर १९ भित्र सम्झौतासहित वा बिना सम्झौता इयुबाट बाहिरिने सम्बन्धी कानून पारित गर्नु पर्छ । त्यसो गर्न नसकेमा ब्रेक्सिटको समयावधी आउँदो जनवरी ३१ सम्मका लागि बढाउन प्रस्ताव गर्नु पर्ने छ ।