काठमाण्डौं – सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वामदेव गौतम पनि आज (बुधबार) त्यसतर्फ लागेका छन् । गौतम बुधबार दिउँसो १ बजे सिल्क एयरको विमानबाट सिंगापुर लागेका हुन ।

पार्टी महासचिव विष्णु पौडेल र वामदेव गौतम दुवैजना मंगलबार प्रधानमन्त्री ओलीलाई भेट्न जाने सल्लाह सोमबारै भए पनि मंगलबार पौडेल मात्र सिंगापुर उडेका थिए । तर, पौडेल पुगेको भोलिपल्ट आज (बुधबार) गौतम पनि त्यसतर्फ गएका हुन ।

प्रधानमन्त्रीको स्वास्थ्य उपचार प्रक्रिया आज (बुधबार) सकिँदै छ । उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । तर, स्वदेश फिर्तीको दुई दिनअघि प्रधानमन्त्री ओलीले नै गौतमलाई फोन गरेर सिंगापुर आउन भनेपछि उनी त्यसतर्फ प्रस्थान गरेको स्रोतले दावी गरेको छ ।