रविको उजुरीमा उच्चले जिल्ला अदालतको आदेश मगायो
काठमाण्डौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा पाटन उच्च अदालत हेटौँडा इजलासले जिल्ला अदालतबाट आदेशको सक्कल विवरण झिकाउने आदेश गरेको छ ।
जिल्ला अदालत चितवनको निर्णयबिरुद्ध पुनरावेदनमा आएका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासले चितवन जिल्ला अदालतमा रहेका मुद्दा र आदेशसम्बन्धी सक्कल विवरण झिकाउन आदेश गरेको हो ।
जिल्ला अदालत चितवनको आदेशविरुद्ध दुरुत्साहन मुद्धा धरौटीमा रिहा भएका लामिछाने र कँडेल मंगलबार उच्च अदालत निवेदन दिएका थिए । न्यायाधीश टेकराज नेपालको इजलासले जिल्लाको आदेश माग गरिएको रजिस्ट्रार विकास श्रेष्ठले जानकारी दिए । पाटन उच्च अदालतको हेटौंडा इजलासमा दिइएको निवेदनमा धरौटीसहितका सर्तहरु खारेज हुनुपर्ने माग गरिएको थियो ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको अभियोगमा जिल्ला अदालत चितवनले भदौ ९ गते लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । धरौटी रकम बुझाएर त्यसै दिन लामिछाने र कँडेल थुनामुक्त भएका थिए ।
जिल्ला अदालतले लामिछानेलाई विदेश जानुअघि अदालतको पूर्व स्वीकृति लिनुपर्ने एवं पुडासैनी प्रकरणबारे कार्यक्रम बनाउन नपाउने सर्त राखेको थियो । उच्च अदालतमा दर्ता भएको निवेदनमा यी सर्तहरु बेरितको भएकाले बदर माग गरिएको छ ।
पुडासैनी गएको साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेको अवस्था भेटिएका थिए । पुडासैनीको साथमा रहेको मोबाइलमा आफू लामिछाने, कँडेल र नर्स अस्मिता कार्कीका कारण मर्न बाध्य भएको भनेर रेकर्ड गरेको भिडियो बरामद भएको थियो । भिडियोको ल्याव परीक्षणपछि चितवन प्रहरीले लामिछानेसहित तीनै जनालाई साउन ३० गते काठमाडौँबाट पक्राउ गरेको थियो ।