काठमाण्डौं – नेपालगञ्ज काञ्जीहाउसबाट दैलेख लैजाने क्रममा सुर्खेतमा गाई मृत्यु भएको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाले प्रतिक्रिया दिएका छन् ।

उक्त घटना हुँदा आफू नेपालगञ्जबाहिर रहेको दाबी गर्दै नगरप्रमुख राणाले नेपालगञ्जमा मंगलबार स्थानीय सञ्चारकर्मीहरुसँग छलफल गर्दै गाईको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै यो दुर्घटना भएको, नियतवश घटाइएको घटना नभएको बताए ।

आफूले नेपालगञ्जको छाडा गाईलगायत पशु चौपाया व्यवस्थापनका लागि बाँके राष्ट्रिय निकुञ्ज, जिल्ला वन डिभिजन कार्यालय, प्रदेश ५ का मुख्यमन्त्रीसँग छलफल गरे पनि सार्थक परिणाम हासिल हुन नसकेको नगर प्रमुख राणाले गुनासो पोखे ।

“हामीले नेपालगञ्जका नागरिकहरुको सहयोगसमेत लिएर गाई व्यवस्थापनमा काम गरेकै थियौँ, तर नगरपालिकाको एक्लो प्रयासले मात्र यो सम्भव नहुने रहेछ”, उनको भनाइ थियो ।

नगरप्रमुख राणाले बर्दियाको बाँसगढी नगरपालिका लगायतका स्थानीय तहले पहाडी जिल्लामा गाई पठाएको थाहा पाएपछि आफुहरुले पनि गाई दैलेख पठाएको बताए ।

“यो गौहत्या नभई दुर्घटना हो, गाई भिरबाट खसालेर मारेको भन्ने प्रचारमा कुनै सत्यता छैन, ट्रकभित्र गाई मरेपछि आत्तिएर सँगै गएका कर्मचारीले छाडेका रहेछन्”, उनको स्पष्टोक्ति थियो ।

छलफलमा सहभागी पत्रकारहरुले अल्पकालीन र दीर्घकालीन योजना बनाएर छाडा गाईलगायत पशु चौपायाको व्यवस्थापन र संरक्षण गर्नुपर्ने सुझाव दिएका थिए ।

छलफलमा भारतबाट नेपालगञ्ज धपाइएका पशु चौपाया रोक्नुपर्ने, गाई र अन्य पशुपालकहरुको पशुमा ट्याग लगाउने र यसरी ट्याग लगाएका पशु छाडा छाडिएमा दण्ड, जरीवाना गर्नुपर्ने, गौशाला निर्माण गरी छाडा गाईको व्यवस्थापन गर्नुपर्ने लगायतका सुझाव पनि दिएका राससले जनाएको छ ।

नगरप्रमुख राणाले अब सबै पक्षको सुझावको आधारमा स्पष्ट कार्ययोजना बनाएर छाडा गाईलगायत पशु चौपायाको व्यवस्थापन गरिने प्रतिबद्धता जनाएका छन् ।