प्रधानमन्त्रीलाई भेट्न आज गौतम र पौडेल सिङ्गापुर जाँदै

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडेल आज (मङ्गलबार) सिङ्गापुर जाँदै छन् ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि उनीहरु मङ्गलबार दिउँसो एक बजे सिङ्गापुर जाने महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले बताए ।
स्वकीय सचिव पाण्डेका अनुसार प्रधानमन्त्रीसँगै उनीहरु पनि स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएका थिए । प्रधानमन्त्रीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।