
काठमाण्डौं – बैंकिङ प्रणाली ह्याक गरेर नेपाली बैंकका एटीएम बुथबाट करोडौँ लुट्ने चीनिया गिरोहले स्पेनमा बसेर योजना बनाएको खुलासा भएको छ ।
शनिबार राति विभिन्न एटिएम बुथबाट पैसा निकालेर भाग्दै गर्दा पक्राउ परेका चिनिया नागरिकलाई सोधपुछ गर्ने क्रममा थप रहस्य खुलेको हो । पक्राउ परेका अभियुक्तले दिएको बयान अनुसार उनीहरुलाई पैसा लुट्न परिचालन गर्ने गिरोहको नाइके स्पेनमा रहेका छन् । तर ती नाइके पनि चिनिया नागरिक नै हुन् ।
प्रहरीको नियन्त्रणमा रहेका लियांग नामका युवाले सो बयान दिएका छन् । उनी आफै पनि प्रविधिमा दख्खल राख्ने पाइयो । उनको ल्यापटपमा स्पेनमा रहेका नाइकेले सम्पर्क गरेको देखिएको घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरुले बताएका छन् ।
नेपालीहरुको सहयोगविना यो लूट सम्भव नभएको र त्यसमा नेपालीको पनि संलग्नताको रहेको हुन सक्ने कोणबाट पनि अनुसन्धान गरिँदै छ । लुटेको नेपाली पैसा समेत उनीहरुले सजिलै चीन लैजान वा सटही गर्न सम्भव नहुने सभएकाले पनि नेपालीहरु संलग्न रहेको आशंका गरिएको छ ।
शुक्रबार एयर चाइनाको उडानमार्फत उनीहरु काठमाडौं ओर्लिएका थिए । शनिबार पैसासहित पक्राउ झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ रहेका छन्, उनीहरु सबै अरुबाट परिचालित देखन्छि । नाइकेले भाडामा प्रयोग गरेको र कमिसनको लोभमा यो जोखिम मोलेको प्रारम्भिक अनुसन्धानमै खुलेको छ ।
उनीहरुले नेपालमा सिमकार्ड पनि लिएका छैनन् । ‘विच्याट’ नामक एपबाट सञ्चार गर्ने गरेको देखन्छि । त्यसमा भएको कुराकानी अध्ययन गर्दा १० प्रतिशत कमिशनका लागि नेपाल आएर पैसा लुट्न थालेको खुलासा भएको हो ।
अनुसन्धान अधिकारीहरुका अनुसार काठमाडौँ आएलगत्तै उनीहरु माया मनोहर बुटिक होटलमा बसेका थिए । लुटेको पैसा पनि त्यही राखेका थिए, तर आइतबार नै उनीहरु त्यहाबाट फर्किने तयारी थियो । होटलको बु्किङलगायत त्यहाँ बस्ने सबै व्यवस्था पनि विदेशबाटै अनलाइन सिस्टममार्फत तय गरिएको थियो ।
पक्राउ परेकाहरुकाे साथबाट डेढ कराेड नेपाली रुपैयाँसहित केही हङकङ डलर र अमेरिकी डलर समेत बरामद गरिएकाे छ । यसबारे विस्तृत अनुसन्धान भइरहेकाले थप रहस्य खुल्न सक्छ ।