काठमाण्डौं – प्रहरीको इतिहासमा बहुचर्चित सुडान घोटाला काण्डका फरार दोषी ठेकेदार शम्भु भारती पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फरार ठेकेदार शम्भु भारतीलाई पक्राउ गरेको हो । पक्राउको पुष्टि सिआइबीका प्रवक्ता तथा एसपी दीपक रेग्मीले गरेका छन् । भारतीलाई शुक्रबार पक्राउ गरिएको हो ।

कहाँबाट पक्राउ गरिएको हो भन्ने विषय खुलाइएको छैन । सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख बिगो जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो ।

सुडान घोटाला काण्डमा पूर्व आइजिपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी समेत दोषी ठहर भई सजाय भुक्तान गरी रिहा भइसकेका छन् । दोषी ठहर भएका पूर्वआइजिपी रमेशचन्द ठकुरीले असार १९ मा सर्वोच्च अदालतमा आत्मसर्पण गरेका थिए । उनलाई २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएको छ । पूर्व डिआइजी दीपक श्रेष्ठ र रवि राणा यसअघि नै कैद भुक्तान गरी छुटिसकेका छन् ।

नेपाल प्रहरीको सुडानस्थित शान्ति मिसनका लागि आवश्यक एपिसीसहित बन्दोबस्तीका सामान खरिदमा २९ करोड भ्रष्टाचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर थियो ।