‘कम्युनिष्ट स्टेट’ भत्काउने कांग्रेस उपसभापतिको चेतावनी

काठमाण्डौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ‘कम्युनिष्ट स्टेट’विरुद्ध आन्दोलन छेड्ने चेतावनी दिएका छन् ।
बिहिबार राजधानीमा आयोजित युवा र राजनीति विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै नेता नीधिले कम्युनिष्ट राज्यविरुद्ध आन्दोलनका लागि तयार रहन युवाहरुलाई निर्देशन नै दिएका छन् ।
बुधबार मात्र राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकार देशमा कम्युनिस्ट राज्य बनाउने योजनामा लागेको भन्दै आन्दोलनबाट भत्काइदिने चेतावनी दिएका थिए ।
अोली नेतृत्वकाे सरकार प्रणालीमा टेकेर प्रणालीलाई नै सिध्याउने खेलमा लागेको भन्दै उनले कम्युनिष्ट स्टेटविरुद्धको आन्दोलनका लागि तयारी अवस्थामा रहन युवाहरुलाई निर्देशन दिए । उनले सरकारले नयाँ विधेयकहरुमा पनि सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहित हुने गरी व्यवस्था गरेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले सेना, संवैधानिक अंगका प्रमखु, केन्द्रीय गुप्तचर विभागलगायतलाई आफ्नो मातहत राख्ने गरी कानूनको तयारी भइरहेको सन्दर्भबीच नीधिले विरोध आन्दोलन छेड्ने संकेत गरेका छन् ।
सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य संचालन व्यवस्था माथि नै खतरनाक संकेतको रुपमा आएको बताएका छन्। कार्यपालिका प्रमुख विदेश जानुपर्ने भएपछि भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्न सक्ने गरी कानूननै संशोधन गरिनु सिंगो व्यवस्थामाथिको प्रहार भएको उपसभापति नीधिको ठहर छ ।
‘कार्यपालिकाको प्रमुख बिरामी परेर विदेश जानुभयो । त्यो पनि कानूनमै संशोधन गरेर । देशका कानूनलाई अवैधानिक तरिकाले राष्ट्रविरोधी र लोकतन्त्रविरोधी मानसिकताबाट तथा अधिनायकवादी प्रवृत्तिबाट कानून परिर्वतन गरेर मन्त्रीपरिषद् बैठक संञ्चालन गर्न पाईदैन । यो खतरनाक संकेत हो’ नेता नीधिले भने ।