काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका नेता भिम रावलबीच अहिले फेरि टकराव सुरु भएको छ । यो सरकार बनेदेखि नै विरोधमा उत्रिएका रावल बीचमा केही समय चुपचाप भएपनि अहिले फेरि प्रधानमन्त्री र सरकारको विरोधमा उत्रिएका छन् ।

उनको भनाई र बुझाई पछिल्लो समयमा स्वभाविक पनि छ । उनी वर्तमान सरकार असफल भएको र जनताले आफूहरुलाई पत्याउन छोडिसकेको तर्क गर्छन् । मन्त्री हुने चाहना राखेका उनलाई हिजोका दिनमा ओलीले चान्स नदिएपछि एक्कासी रनभुल्लमा परेका रावल कहिलेकाही अलमलमा पर्ने गरेका छन् ।

सोमबार भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद्को बैठक बसेको भन्दै उनले सामान्य असन्तुष्टिमात्र होइन ठूलै आक्रोश पोखेका छन् । रावलले बुधबार आफ्नै क्षेत्रतिर पुगेर सरकारको टिप्पणी गरेका हुन् । कन्फ्रेन्सबाट बैठक बस्दा नेपालका कतिपय गोप्य सूचना चुहिने र त्यसले राष्ट्रका लागि खतरा निम्त्याउने उनको तर्क पनि स्वभाविक छ । रावलले कार्यवाहकको जिम्मेवारी दिएपछि पनि त्यसरी मरिहत्ते गरेर कन्फ्रेन्सबाट बैठक बस्नु अस्वभाविक भएको बताएका छन् ।

स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीले आफैं नै प्रधानमन्त्री रहिरहेजस्तो गरेको व्यवहारको नेपाली कांग्रेसले पनि असन्तुष्टि जनाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा पूर्व रक्षामन्त्रीसमेत भइसकेका बालकृष्ण खाँण मन्त्रिपरिषद कार्यविधि नै संशोधन गरेर बसिएको मन्त्रिपरिषद्को बैठकको आलोचना गरे ।

आफू नहुँदा सबै कामकाज गर्ने गरी ईश्वर पोखरेललाई छोडेर हिँडेका ओलीले स्वास्थ्य उपचार गराउनुभन्दा पनि म नहुँदा अरुले केही लिइहाल्छन् कि र आफू फर्केर आउँदा त्यो स्वार्थ लुट्न पाइदैन कि भनेर कुविचार पालेको प्रष्ट रुपमा बुझ्न सकिन्छ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुको साटो ओली पनि गलत सोचमा लागेका छन् ।

भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने ओलीको नारा पनि पुरानो भइसकेको छ । उखान टुक्काको भरमा सर्वसाधारण जनतालाई झुक्याउन जानेका ओली अस्वस्थ्य भएर पनि प्रधानमन्त्री चलाइरहनु उनको स्वार्थका लागि कि देशका लागि भन्ने विषय प्रमुख बनेको छ । आफूभन्दा ठूलो देश नभएको भन्ने बुझेपनि उनले मरिहत्ते गर्न छोडेका छैनन् ।

पद र शक्तिभन्दा अरु ठूलो कुरा केही छैन भने झैं ओली पनि यसैमा रमाइरहेका छन् । उनको १८ महिनाको कार्यकाल प्रभावकारी बन्न नसक्दा जनताले आलोचना गरिरहेका छन् तर पनि उनी र उनका अरौटेभरौटे र नाम बेचेर खाने व्यापारी दलालहरु भने यो सत्यलाई स्विाकार्दैनन् ।

मन्त्रीहरुले पनि ओलीलाई चाहेको बेलामा भेट्न पाउँदैनन् । पार्टीका नेता तथा कार्यकर्ताहरुको कुरा त धेरै टाढाको विषय हो । राती २ बजेमात्र सुत्छन् हाम्रा प्रधानमन्त्री भन्ने उनका कार्यकर्ताहरुले भने त्यतिबेलासम्म के गर्छन् भन्ने बुझेका छैनन् ।

समाचारस्रोतले ओली , बालुवाटार काण्डमा जोडिएका मनोनित महासचिव विष्णु पौडेल र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल गोप्य फाइल अध्ययन गरेर बस्ने र सेटिङ गर्ने गरेको जनाएको छ । उनको रातीको बसाई देशको लागि झन् खतरनाक बन्दै गएको छ ।
ओलीको स्वास्थ्यलाभ होस् र नेपाल फर्किएर आएपछि देश र जनताको पक्षमा काम गर्ने सद्वबुद्दी पलाओस् शुभकामना ।