काठमाण्डौं – मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रियसभामा पेश हुँदैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विधेयक पेश हुने कार्यसूचि छ ।

नेकपाका नेता तथा सांसद सुवाचन्द्र नेम्वाङ्गको पहलमा विधेयकका विवादित प्रावधान संशोधन गर्न सरकारले पूर्वसहमति जनाएपछि विधेयक दर्ता भएको तीन महिनापछि राष्ट्रियसभामा पेश हुन लागेको हो । विधेयक गएको वैशाख २७ गते राष्ट्रियसभामा दर्ता भएको थियो । विधेयक दर्ता भए लगत्तै नेपाल पत्रकार महासंघले आन्दोलन गरेको थियो।

आन्दोलनपछि सत्तारूढ दल नेकपाले पत्रकार महासंघका पदाधिकारीसँग औपचारिक र अनौपचारिक छलफल गर्दै संशोधन गर्ने वचन दिएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयक फिर्ता लिनुपर्ने माग संसदमै गरेको थियो । तर राष्ट्रियसभामा रहेका दलहरू र पत्रकार महासंघबिच राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले वार्ता गराएका थिए । वार्तामा सरकारले विधेयक संशोधन गर्ने बताएपछि बिहीबारको बैठकमा पेश हुने तय भएको हो ।

मिडिया काउन्सिल विधेयक अनुसार काउन्सिलको स्वायत्तता खोसिने अवस्थामा रहेको छ । विधेयक पारित भए मिडिया काउन्सिल सरकारी हुलाक जस्तो बन्ने भन्दै विरोध हुँदै आएको हो ।

अर्धन्यायीक निकायका रूपमा रहने काउन्सिलले १० लाखसम्म जरिवाना तिराउन सक्ने प्रावधान छ । विशेष गरी यही प्रावधानको विरोध हुँदै आएको छ ।

पत्रकारले आचारसंहिता उल्लंघन गर्दा काउन्सिलले नै मुद्दा चलाउन सिफारिस गर्न सक्नेसम्मको प्रावधान विधेयकमा छ । यसैगरी काउन्सिलको गठन गर्दा अध्यक्षको नियुक्ति सरकारले गर्ने र मन्त्रालयले नियुक्त गरेकाहरूको बहुमत देखिन्छ ।