ट्रम्प थप कठोर, ल्याए आप्रबासी बालबालिकालाई पनि अनिश्चितकालसम्म बन्दी बनाउने नियम

एजेन्सी – दक्षिणी सीमा क्षेत्रबाट अवैध रुपमा अमेरिका प्रवेश गर्ने आप्रबासी परिवारलाई अनिश्चित समयका लागि बन्दी बनाउने तयारी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले थालेको छ ।
राष्ट्रपति ट्रम्प प्रशासनले घोषणा गरेको नयाँ नियम अनुसार दक्षिणी सीमा क्षेत्रबाट अवैध रुपमा प्रवेश गर्ने आप्रबासीलाई पक्राउ गर्ने र अनिश्चित समयका लागि बन्दी बनाउने व्यवस्था छ ।
नयाँ नियमले त्यो सहमतिलाई विस्थापित गर्नेछ, जसमा आप्रवासी बालबालिकालाई कति समयसम्म बन्दी बनाएर राख्ने भन्ने समयसीमा तोकिएको छ ।
नयाँ निमयको घोषणा कार्यवाहक होमल्याण्ड सेक्युरिटी रेक्रेटरी केविन म्याकएनीननले गरेका हुन् । यो नियम ६० दिनभित्र कार्यान्वयनमा आउने छ ।
यो नियम विरुद्ध अदालतमा उजुरी पर्ने सम्भावना छ । आप्रबासी परिवारलाई बन्दी बनाएर राख्ने समय सीमा तोकिँदा मध्य अमेरिकी देशबाट अवैध रुपमा अमेरिका आउनेको संख्या यो वर्ष बढेकाले नयाँ निमय ल्याइएको होमल्याण्ड सेक्युरिटीका अधिकारीले बताएका छन् ।
आप्रबासीका अभिभावक र बालबालिकालाई विभाजित गरेर बन्दी बनाउने गरेको घटनाको तीव्र रुपमा विरोध हुँदै आइरहेका बेला नयाँ र कडा निमय ल्याइएको हो । यसको तीव्र आलोचना हुने सम्भावना छ ।