एजेन्सी – क्याथोलिक चर्चका सबैभन्दा वरिष्ठ या ठूला पादरी कार्डिनल जर्ज पेल यौन दुर्व्यवहारको घटनामा दोषी ठहर भएको छन् । कार्डिनल जर्ज पेलले आफ्नो सम्मान अखण्डित राख्नका लागि आरोपहरु झुट रहेको भन्दै कानूनी रुपमा दिएको चुनौतिमा असफलता हात पारेका हुन् ।

अष्ट्रेलियाको अदालतले उनलाई यौन दुर्व्यवहारको घटनामा दोषी ठहर गरेको हो । उनलाई गएको मार्चमा अदालतले दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय तोकेको थियो । त्यस विरुद्ध दिएको अपिलमा पनि उनको विपक्षमा अर्थात अदालतको यसअघिको फैसलाकै पक्षमा निर्णय भयो ।

उनले सन् १९९० को दशकमा मेलबर्नमा रहेको क्याथिड्रल (मुख्य गिरिजाघर) मा दुई बालकमाथि यौन दुर्व्यहार गरेकोमा अदालतले दोषी ठहर गरेको थियो । उनले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

भ्याटिनकको राज्यकोषका पूर्व अध्यक्ष समेत रहेका ७८ वर्षका पेल हाल जेलमा छन् । उनी सन् २०२२ को अक्टोबरमा पेरोलमा बाहिर निस्कन पाउने छन् ।

गएको वर्षको डिसेम्बरमा जुरीले सर्वसम्मत रुपमा १३ वर्षका बालकलाई सेन्ट प्याट्रिक गिरिजाघरमा यौन दुर्व्यहार गरेको तथा अर्कोपटक अर्का एक बालकलाई त्यस्तै व्यवहार गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको थियो ।

जुरीले पर्याप्त प्रमाण नभइ संकाको आधार नै नराखी आफूलाई दोषी ठहर गर्नु उपयुक्त भएको उनले बताएका थिए । जुरीले आरोप लगाउने पक्षको अनियन्त्रित प्रमाणकै आधारमा दोषी ठहर गरेको भन्दै पादरीका वकिलले अपिल गरेका थिए ।

तर अस्ट्रेलियाको भिक्टोरिया कोर्ट अफ अपिलले बुधबार उनको अपिल खारेज गरेको हो । तीन न्यायाधीशको प्यानलमा उनको अपिल २ – १ ले खारेज भएको हो ।