भारतीय विदेशमन्त्री आउँदै

काठमाण्डौं – नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ । भोलीसम्म चल्ने बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरावलोकन गर्दै दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन बैठक महत्वपूर्ण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बैठक दिउसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । भारतीय विदेशमन्त्री एस जयशङ्कर आजै नेपाल आउदै छन । उनी आए लगत्तै बैठक आरम्भ हुनेछ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करले संयुक्त अध्यक्षतामा बैठक शुभारम्भ हुने मन्त्रालयले बताएको छ । बैठक सञ्चालका लागि ३५ सदस्यीय प्रतिनिधिमण्डल गठन गरी कार्यविभाजन गरिएको छ ।

परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवालीका अनुसार बैठक शुभारम्भसँगै केही नयाँ समझदारीमा उद्घाटन सत्रमै दुई देशका परराष्ट्रमन्त्रीले हस्ताक्षर हुने कार्यक्रम छ । नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकको सुरुआत सन् १९८७ देखि सुरु भएको थियो । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो ।