काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक पर्याप्त गृहकार्य नभएको भन्दै स्थगित गरिएको हो ।

पार्टीका विभागहरुको नेतृत्व सम्बन्धी विवाद लामो प्रयासबाट टुंग्याएको नेकपाले एकताका बाँकी प्रक्रियाबारे छलफल सुरु गर्न नसकेको हो । मंगलबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका थिए ।

सचिवालय बैठकमार्फत पार्टीको पोलिट्ब्युरो कमिटी र विभिन्न आयोगहरु गठनमा रहँदै आएको विवाद समाधान गर्ने नेकपाको प्रयास छ । तर यसबारे छलफल नै नभई बैठक स्थगित हुँदै आएको छ ।

नेकपाले अझै केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न बाँकी छ । यस्तै सम्पर्क समन्वय कमिटि, विशेष प्रदेश कमिटि, प्रवास संगठनको पनि एकता प्रक्रिया पूरा हुन बाँकी छ ।