चितवन – प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा नाराबाजी गर्ने ७ जनालाई सोमबार पक्राउ गरेको छ ।

उनीहरुले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा रवि लामिछाने निर्दोष रहेको र तत्काल छाड्नु पर्ने भन्दै सडकमै नाराबाजी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

यसअघि बिहान जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रविका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका थिए ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो सन्देशमा आफ्ना पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका थिए । सोही भिडियोको आधारमा छानबिनका लागि तीनैजना अहिले प्रहरी हिरासतमा छन् ।