जम्मूकश्मीरबारे नेपाल नबोल्ने

काठमाण्डौं – जम्मू – कश्मीरमा भारत सरकारको पछिल्लो निर्णयबाट उत्पन्न परिस्थितिलाई नेपालले नजिकसँग नियालिरहेको बताएपनि त्यसबारे कुनै आधिकारिक धारणा तत्काल नआउने स्पष्ट संकेत देखा परेका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी त्यहाँको परिस्थितिबारे नेपालले नजिकबाट नियालिरहेको र दिल्लीस्थित दूतावास भारतीय सरकारसँग सम्पर्कमा रहेको बताए ।
र, चार गते भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौ बैठकका लागि भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा त्यो विषय नेपालले नउठाउने स्पष्ट समेत पारे ।
भारत सरकारले दुई साता अघि जम्मूकश्मीरको विशेषदर्जा समाप्त गरेपछि उत्पन्न परिस्थितिबारे नेपाल सरकारले आलोचनासहित स्पष्ट धारणा बाहिर ल्याउनु पर्ने माग केही पक्षबाट भइरहेका बेला मन्त्री ज्ञवालीले यो टिप्पणीले ती मागहरुलाई अस्वीकार गरेको सन्देश दिएको छ ।
त्यस्तै नेपाली कांग्रेसका नेता सांसद प्रदीप गिरीले ‘सिक्किम निलेको’ भारतले कश्मीर निलेको भारतले नेपाल पनि खान्छ भन्ने आसयको अभिव्यक्तिप्रति ज्ञवालीले भने,‘ नेपाल भारतबीचको सम्बन्धमा चिसोपन ल्याउने अभिव्यक्ति हो र त्यसले कहिल्यै विदेशी प्रभूत्वमा नरहेको नेपालका नागरिकको भावनालाई अवमूल्यन गरेको छ ।’
स्वतन्त्र राष्ट्र नेपालको अस्तित्व लोप हुने र एउटा मित्र राष्ट्र भारतबाट त्यस्तो कार्य नहुने उनको भनाई छ ।