उपचारका लागि प्रधानमन्त्री बिहीबार फेरि सिंगापुर जाँदै

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनी १० दिनसम्म स्वास्थ्य उपचार गराएर अघिल्लो सोमबार स्वदेश फर्केको भए पनि फेरि जान लागेका हुन् ।
केही औषधी सेवन र थप परीक्षणका लागि उनलाई यसअघि नै चिकित्सकले उतै बस्न आग्रह गरेको भए पनि उनी पार्टीको केही काम सक्नैपर्ने भन्दै स्वदेश फर्किएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
उपचारपछि उनी स्वदेश फर्किएलगत्तै उनले पार्टीमा लामोसमयदेखि टुंगो लाग्न नसकेका काम टुंग्याएका छन् । पार्टीको सचिवालय बैठक बसी विभिन्न नेताहरुको जिम्मेवारी पनि हेरफेर गरिएको थियो भने विभागलाई पूर्णता दिइएको छ । त्यस्तैगरी जनवर्गीय संगठनको संयोजक र सहसंयोजक पनि बनाइएको छ ।
प्रधानमन्त्री ओलीले स्वदेश फर्केपछि आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको बताउँदै चिकित्कसले आफूलाई २०–२५ वर्ष बाँच्ने बताएको धारणा राखेका थिए ।उनले स्वदेश फर्केपछि ट्विट गर्दै भनेका थिए,“सिंगापुरमा स्वास्थ्य परीक्षण गरी आज फर्किएको छु ।
मेरो स्वास्थ्य सामान्य रहेको छ । परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु ।”
उनको स्वास्थ्य अवस्थाका बारेमा सरकारी तहबाट कुनै औपचारिक जानकारी भने नगराइएकोले जनस्तरबाट गुनासो समेत आएको थियो । कामको धपेडीको कारण देखाउँदै उनका निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचको लागि यसअघि सिंगापुर जान आग्रह गरे बमोजिम उनी त्यसतर्फ गएका थिए ।
प्रधानमन्त्री राति १ – २ बजेसम्म विभिन्न काममा व्यस्त हुने र बिहान पनि सबेरै उठ्ने भएकोले धपेडीका कारण उनलाई समस्या पर्न सक्ने चिकित्सक टोलीले यसअघि बताएको बुझिएको छ ।
सिंगापुर जानुभन्दा एक साताअघि छाउनी अस्पतालमा स्वास्थ्य स्वास्थ्य परीक्षण गरिएको थियो । रगत, दिसा पिसाब, पेटको अल्ट्रासाउण्ड, बायोप्सीलगायतका परीक्षण सो अवसरमा गरिएको बताइएको थियो । उनी केही दिनसम्म सार्वजनिक कार्यक्रममा पनि सहभागी नभएकोमा जानुअघि भने उनी केही कार्यक्रममा सहभागी भएका थिए ।
६ वर्षअघि उनको हातमा समेत संक्रमण भएर समस्या आएको थियो । उनको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।पछिल्लोपटक सिंगापुरमा उपचार गराएर आएपछि उनी पार्टीको बैठकमा सामेल भएर केही निर्णय प्रक्रियामा सहभागी भएका थिए ।
उनले आइतबार नै संसद्मा सम्बोधन गर्दै आफ्नो स्वास्थ्यका बारेमा पनि जानकारी गराएका थिए । अरु बेलाको भन्दा आइतबारको सम्बोधनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रति केही नरम देखिए पनि व्यवस्था उल्टयाउँछु भन्नेप्रति अलि कडा रुपमा प्रस्तुत भएका थिए ।
उनी आज बिहान ९ बजे पर्यटन सम्बन्धी एक कार्यक्रममा होटल सोल्टीमा आयोजित एक कार्यक्रममा पनि सहभागी हुने उनका प्रेस संयोजक चेतन अधिकारीले आज बिहान बाह्रखरीसँगको कुराकानीमा बताए ।