पार्टी अध्यक्ष बन्ने आश्वासन पाएपछि ओलीप्रति दाहाल नतमस्तक, नेपाल एक्लिए

काठमाण्डौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने पूर्व सहमतिविपरीत पूरै अवधि आफै प्रधानमन्त्री रहने केपी ओलीको उद्घोषपछि नेपाल कम्युनिष्ट पार्टी-नेकपाको शीर्ष नेताहरुमा तीव्र ध्रुवीकरणका संकेतहरु देखा परेका छन्।
प्रधानमन्त्री ओलीले आइतबार संसदमा भने, ‘एक जनाले भनेको सुनेको छु प्रधानमन्त्री लकलक कामेका छन्, अब पद जाने भयो। पद कसको जाँदैन र? राजा महाराजा सबैको पद गएकै हो। तर आगामी निवार्चनसम्म म प्रधानमन्त्रीमा रहिरहने छु, त्यसमा धैर्य गर्न साथीहरुलाई आग्रह गर्छु।’
यो उद्घोष गर्नुपूर्व ओलीले प्रचण्ड र पार्टीका अर्का नेता वामदेव गौतमलाई आफूतिर मिलाउन सफल भएका छन् भने ओलीको वर्तमान निशाना पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बन्न पुगेका छन् । र, ओलीविरुद्धको ध्रुवको नेतृत्व अब नेता नेपालले गर्ने पार्टीको उपल्लो तहका एक नेता बताउँछन्। आइतबार साँझको नेकपा बैठकले नेपाललाई पार्टीको चौथो वरियतामा धकेलेको छ। यसले माधवकुमार नेपाल पार्टीमा झन् एक्लिएका छन्।
पाटीका महत्पूर्ण मानिएका ३३ विभागहरुको गठनले पूर्णता पाउँदै गर्दा नेता गौतमलाई अप्रत्यासितरुपमा उपाध्यक्ष बनाउने, आफ्नो गुटको आफूपछिको दोस्रो नेता बनाउने, संगठन विभाग प्रमुखको जिम्मेवारी दिने र तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नम्बर २ बाट चुनावमा लडाउने आश्वासन ओलीले दिएका छन्।
त्यसका लागि अहिले आफ्नो नियन्त्रणभित्र रहेका अर्का अध्यक्ष दाहाललाई अन्तत : तह लगाउन पार्टीमा फेरि आफ्ना नेता मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद-जबज’ पार्टीको सिद्धान्त बनाउने गरी काम गर्न गौतम तयार भएको बुझिएको छ।
सहमतिअनुसार जबजको सान्दर्भिकता र औचित्य रहेको आशयसहित एउटा राष्ट्रिय दैनिक पत्रिकामा गौतमले लामो लेखसमेत लेख्न भ्याएका छन्।
ओली ९ दिने सिंगापुरको उपचार सकेर फर्किएलगत्तै एकपछि अर्को गर्दै भएका बैठकहरुमध्ये केही बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत संलग्नता रहेको पनि ती नेताको दावी छ।
‘मदन भण्डारीलाई पृथ्वीनारायण शाह बनाउने र पार्टी तथा सरकार पूर्ण नियन्त्रणमा राख्ने खेलमा वालुवाटार र शितलनिवास लागिपरेका छन्’, ती नेता भन्छन्।
आफूलाई पार्टी अध्यक्ष बनाउने आश्वासन ओलीबाट पाएपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई स्कुल विभागको प्रमुख बनाउने अडानबाट दाहाल पछि हटेको एक उच्च स्रोत बताउँछ।
स्रोतका अनुसार आफूले चाहेको पद सुरक्षित हुने आश्वासन पाएपछि दाहालले श्रेष्ठलाई भनेका थिए, ‘अब सबै काम अघि बढिसकेको छ, तपाईँकै कारणले एकता प्रक्रिया रोकिनु राम्रो पनि भएन । त्यसैले अब स्कुल विभागको प्रमुख हुने अडान छोड्नुहोस्, मिलेर अघि बढौँ।’
ओली र दाहालबाट धोका पाएपछि नेपालले अब के गर्लान्?
प्रधानमन्त्री ओलीको अहिलेको आक्रोशमा ‘वरिष्ठ नेता’को हैसियत खोसिएपछि नेपालले के गर्लान त ? पार्टीभित्र यो चर्चाको विषय बनेको छ।
शुक्रबार सचिवालय बैठकमा नेता झलनाथ खनालले आफूले ‘वरिष्ठ नेता’को हैसियत पाउनुपर्ने भन्दै औपचारिकरुपमा प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव आइतबारको सचिवालय बैठकले सदर गरेको हो।
शनिबार र आइतबार बिहान दाहालसँगको भेटमा नेपालले आफूमाथि खेल सुरु भएको र त्यसका विरुद्धमा आफू विधिमा रहेर लड्ने बताएका थिए। यद्यपि उनी चौथो वरियतामा धकेलिएका छन्।
यो बीचमा नेपालले नेता खनालसँग भेट गरी आफुहरु दुईलाई अध्यक्ष ओलीले लडाउन खोजेको र त्यस्तो लडाइँले दुवै जनालाई फाइदा नगर्ने भएकाले ‘वरिष्ठ नेता’को हैसियत प्राप्तिका लागि लबिङ नगर्न खनाललाई आग्रह गरे पनि उनी यसमा असफल भएका छन्।
नेपालनिकट एक प्रभावशाली नेता भन्छन्, ‘नेपालले पार्टीभित्र अब एक व्यक्ति एक पदको मागलाई अभियानको रुपमा तिव्रता दिने मात्र होइन, एकताअघि पूर्व एमालेमा वामदेव गौतमका समकक्षी रहेकालाई उपाध्यक्ष बनाउने मागसमेत जोडदारका साथ उठाउने तयारी गर्नु भएको छ।’
यद्यपि पूर्ववर्ती एमालेमा प्रभावशाली मानिने नेताहरु युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्यलाई पनि नेकपाको उपाध्यक्ष बनाउनुपर्ने नेपालको मागको सुनुवाइ भएको छैन। उनको मागअनुसार ‘एक व्यक्ति एक पद’ कार्यान्वयन ओली र दाहालमध्ये एकले सरकारको नेतृत्व गर्नुपर्छ भने अर्कोले पार्टी नेतृत्वको जिम्मेवारी लिनुपर्छ।
दाहालको स्वायत्ततामा ब्रेक लगाउने रणनीति
‘योसँगै तत्काल नेपाललाई अलग्याउन दाहाललाई अध्यक्ष बनाउन आश्वासन दिएतापनि गौतमलाई उपाध्यक्ष बनाएर दाहालको स्वायत्ततामा ‘ब्रेक’ लगाउने प्रपञ्च रचेको आज नभए भोलि बुझ्न कठिन छैन,’ उच्च स्रोत भन्छ, ‘तर पार्टीमा ओलीले चाहेको एकाधिकार स्थापित नहुने देखिन्छ।’
पार्टीभित्र नेपाललाई एक्ल्याएर आफ्नो हैकम स्थापित गर्ने ओलीको स्वास्थ्यका कारण उनले काम गर्न नसक्ने अवस्था आएमा उपप्रधानमन्त्रीसँगै स्कुल विभागको प्रमुखको जिम्मेवारी पाएका इश्वर पोखरेलले ओलीप्रति सहयोग गर्लान् भन्ने विश्वास ओली खेमामा छैन ।
यता ओली आफ्नो स्वास्थ्यको ‘फलो अप’को लागि यहि भदौ ४ गते सिंगापुर जाँदैछन्। र उनको यसपटकको सिंगापुरको बसाई लम्बिने संकेत देखा परेका छन्।
१२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाले पूर्णरुपमा काम गर्न नसकेको अवस्थामा पुन : मिर्गौला प्रत्यारोपण गर्नुपरेमा उनि कम्तिमा पनि ३ हप्ता सिंगापुर बस्नुपर्ने बाध्यता रहन्छ।
यता ओलीको अनुपस्थितीमा कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी भर्खरै मात्रै स्कूल विभागको प्रमुख बनाइएका उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सम्हाल्ने छन्।
पार्टी र सरकारको यो नयाँ रस्साकस्सी र समिकरणमा राष्ट्रपति भण्डारीसमेतत विवादमा तानिएयता पनि ओली थप मजबुत हुनेमा उनका विरोधी पनि स्पष्ट छन्।
तर चिन्तित नेपालले पहिलो वाण कहिले चलाउन् ?
‘खनालले तत्काल ‘वरिष्ठ नेता’को हैसियत पाएमा नेपालको खुल्ला हमला ओलीविरुद्ध आउने छ तत्काल’, स्रोत भन्छ।
desh sanchar