काठमाण्डौं – पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउको विषयलाई लिएर काठमाण्डौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रिदम विसी भनिने शंकर विक छन् । उनलाई अछामको मंगलसेनबाट पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । उनलाई काठमाण्डौं ल्याइदै छ । अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीका अनुसार विसीलाई शनिबार पक्राउ गरिएको हो ।
उनले ‘रवि लामिछानेलाई दाइलाई फसाउने यो नै हो भ्रष्ट….’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए, जसलाई ५ सय बढीले शेयर गरेका छन् । पुडासैनी आत्महत्या प्रकरणमा काठमाण्डौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । अहिले उनीहरु तीनै जनालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।