काठमाण्डौं – पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका न्युज २४ टेलिभिजन सिधा कुरा जनतासँगका पत्रकार रबि लामिछानेसहित तीन जनालाई पाँचदिन थुनामा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।
रबीका पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो । पत्रकार पुडासैनी गत साउन २१ गते चितवनको कङ्गारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
आत्महत्या गर्नु अघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए । सोही बिषयमा बिहिबार पत्रकार लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यलयबाट खटिएको टोलीले अनुसन्धानको लागि काठमाडौँबाट पक्राउ गरेको थियो ।