बिहानै दुईवटा मिसाइल प्रक्षेपण

एजेन्सी – उत्तर कोरियाले दक्षिण कोरियासँगको शान्ति वार्ता अस्वीकार गरेको छ । दक्षिण कोरियासँग अब कुनै पनि वार्ता नहुने उत्तर कोरियाले बताएको हो । दक्षिण कोरियाको पछिल्ला गतिविधिले वार्ताको वातावरण पूर्णरुपमा नष्ट गरेको उत्तर कोरियाको आरोप छ ।

दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले बिहीबार दिएको भाषणको प्रतिक्रिया दिन उत्तर कोरियाले शुक्रबार वक्तव्य जारी गरेको हो । जसमा दक्षिण कोरियाका पछिल्ला गतिविधि अस्वीकार्य रहेको र यस्तो अवस्थामा कुनै किसिमको वार्ताको सम्भावना नरहेको उल्लेख गरिएको छ ।

दक्षिण कोरिया र अमेरिकाले हाल संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । जसबाट उत्तर कोरिया रुष्ट बनेको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको यस्तो गतिविधिले वार्ताको वातावरण बिगारेको बताएको छ।

यसैबिच उत्तर कोरियाले शुक्रबार बिहानै दुईवटा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले बताएको छ । उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट समुद्र तर्फ दुईवटा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले सेनाले जनाएको छ ।

एक महिना भन्दा कम समयमा उत्तर कोरियाले गरेको यो छैटौँ मिसाइल प्रक्षेपण हो । उसले ६ दिनअघि छोटो दूरीमा मारहान्न सक्ने दुईवटा ब्यालेस्टिक मिसाइल सी अफ जापान तर्फ प्रहार गरेको थियो ।

गएको जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा दक्षिण कोरियाका राष्ट्रपति मूनसँग उत्तर कोरियाली नेता किम जोङ–उनको भेटवार्तामा परमाणु निशस्त्रिकरणको वार्ता पुनः सुचारु गर्ने सहमति बनेपछि उत्तर कोरियाले लगातार मिसाइल प्रक्षेपण गर्दै आएको छ ।