प्रधानमन्त्री ओलीको स्वास्थ्यमा फेरि गडबडी, सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित

काठमाण्डौं – पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गडबडी आएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिहीबार निर्धारित केन्द्रीय सचिवालय बैठक अन्तिम समयमा आएर फेरि स्थगित भएको छ ।
दिउँसो चार बजेका लागि निर्धारित बैठकका लागि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका अन्य सदस्यहरु बालुवाटार पुगेर कुरेको करिव आधा घण्टापछि प्रधानमन्त्रीको स्वास्थ्यको प्रतिकूलताका कारण बैठक स्थगित गर्ने सूचना जारी गरिएको थियो ।
पार्टी उच्च स्रोतका अनुसार टाउको दुखेपछि ओली आज सुतिरहेको र भोली तीन बजे बैठक बस्ने सूचना जारी गरिएको थियो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठक स्थगित मात्रै भएको जानकारी दिएका छन् । पछिल्लो समय पूर्वनिर्धारित समयमा बैठक बस्न नसकेको यो तेस्रो पटक हो ।
ओलीले भर्खरै मात्र सिंगापुरमा ९ दिन सम्म स्वास्थ्य परीक्षण गरेर आफू निको भएको दाबी गरे पनि उनको अस्वस्थताका कारण देखाउँदै बैठक फेरि स्थगित हुन पुगेको छ ।
यही साउन २७ गते सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्केका प्रधानमन्त्रीले विमानस्थलमा जम्मा भएका पत्रकारहरुलाई आफु ठिक भएको बाहेक अरु कुनै प्रतिक्रिया दिएका थिएनन् ।
तर पछि ओलीले आफ्नो स्वास्थ्यप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद भनेका थिए ट्वीटमार्फत ।
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा सम्पूर्ण स्वास्थ्य परीक्षण गर्दा ओली ठिक भएको उनका निजी चिकित्सकले दाबी गरेको केही दिनमै ओली ‘स्वास्थ्य परीक्षण ’ का लागि पत्नी राधिकासहित ९ जनाको टोली लिएर सिंगापुर गएका थिए ।
उनले सिंगापुरस्थित नेशनल युनिभर्सल हस्पिलटमा ‘स्वास्थ्य परीक्षण ’ गरेको भनिएपनि त्यहाँको रिपोर्ट सार्वजनिक नगर्दा उनी आलोचित बन्न पुगेका छन् ।
नेपालमा उपचार नहुने या परीक्षण नहुने कुन समस्या ओलीलाई देखा परेको हो त्यसबारे सरकारको खर्चमा उपचारका लागि प्रधानमन्त्रीका हैसियतमा त्यहाँ पुगेका उनले सार्वजनिक गर्नुपर्ने दबाब छ ।