एजेन्सी – काश्मिर मामिलामा भारतविरुद्ध विश्वव्यापी समर्थन खोजिरहेको पाकिस्तान संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् (युएनएससी) मै एक्लिएको छ ।
परिषद्को अध्यक्षता गरिरहेको देश पोल्याण्डबाटै पाकिस्तानले अपेक्षा गरेको सहयोग नपाउने पक्का भएको हो । पोल्याण्डले सोमबार दिल्ली र इस्लामाबादलाई द्विपक्षीय स्तरबाटै काश्मिरको मुद्दालाई सुल्झाउन सुझाव दिएको छ ।
भारत र पाकिस्तानबीच बढिरहेको तनावपूर्र्ण कूटनीतिक सम्बन्धबारे पोल्याण्डले पहिलोपटक प्रतिक्रिया दिएको हो । पोल्याण्डको पछिल्लो प्रतिक्रियासँगै सुरक्षा परिषद्मा काश्मिरको मुद्दा उठाउने पाकिस्तानको प्रयास थप अप्ठ्यारोमा परेको छ ।
पोल्याण्ड अगस्ट महिनाका लागि सुरक्षा परिषद्को अध्यक्ष बनेको छ । परिषद्का सदस्य मुलुकहरुले महिनैपिच्छे पालैपालो अध्यक्षता गर्ने गर्छन् ।
पोल्याण्डले प्रतिक्रिया दिनुअघि सुरक्षा परिषद्को स्थायी देश रुसले पनि काश्मिरमा भारतले उठाएको कदम भारतीय गणराज्यको संविधान अनूकुल नै रहेकोे बताईसकेको छ ।
भारतले अघिल्लो साता काश्मिरलाई दिइँदै आएको विशेषाधिकार खारेज गरेको थियो । संविधानको अनुच्छेद ३७० नै खारेज गरी काश्मिरमा केन्द्रीय शासन लागु गरेपछि पाकिस्तान चिढिएको छ ।
यसको विरोधमा इस्लामाबादले भारतसँगको कुुटनीतिक सम्बन्ध थप साँघुरो बनाएको छ भने द्विपक्षीय व्यापार पनि रोकेको छ । साथै, पारबहनका साधनहरु पनि ठप्प पारेको छ ।
पाकिस्तानले काश्मिरलाई भारतविरोधी मसाला बनाउन खोजेपछि नयाँ दिल्ली पनि सतर्क बनिरहेको छ । भारतीय विदेशमन्त्री जयशंकर गोखलेले पोल्याण्डका विदेशमन्त्री जेसेक जापुतोविक्जसँग फोनमा वार्तालाप गरिसकेका छन् ।
भारतका लागि पोल्याण्डका राजदुत एडम बुराकोब्स्कीले पनि काश्मिरबारे दुई देश मिलेर द्विपक्षीय स्तरमा समाधान निकाल्नुपर्ने बताएका छन् ।