जनगायक शर्मा“पारिजात कला सम्मान–२०७१” बाट सम्मानित हुँदै

0

रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जीवन शर्मा “पारिजात कला सम्मान–२०७१” बाट सम्मानित हुनु हुने भएको छ । प्रसिद्ध प्रगतिवादी साहित्यकार पारिजातको बाइसौं स्मृति दिवसका अवसरमा पारिजात स्मृति केन्द्रले २०७१ वैशाख ५ गते एक समारोहका बीच जनगायक शर्मालाई सो सम्मान दिने घोषणा गरेको हो ।
श्रद्धेय प्रगतिवादी साहित्यकार पारिजातको व्यक्तित्व र कृतित्वको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले स्थापित पारिजात स्मृति केन्द्रले प्रत्येक वर्ष पारिजातका नाममा स्थापित सम्मानबाट विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गर्दै आइरहेको छ । कार्यक्रममा केन्द्रले “पारिजात कला सम्मान–२०७१” बाट जनगायक जीवन शर्मालाई, “पारिजात बाल साहित्य सम्मान–२०७१”बाट प्रगतिवादी साहित्यकार शारदारमण नेपाललाई, “पारिजात सिर्जन सम्मान –२०७१”बाट प्रगतिवादी कवि तथा समालोचक पुर्षोत्तम सुवेदीलाई र पारिजात संघर्षशील नारी सम्मान–२०७१”बाट सामाजिक अभियान्ता मिठाइदेवी विश्वकर्मालाई सम्मानित गर्ने घोषणा गरेको थियो । सम्मानित व्यक्तित्वहरूलाई २०७२ वैशाख २६ मा नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादी काठमाडौंमा दिउँसो २ बजेदेखि आयोजित हुने पारिजात स्मृति सभामा सो सम्मान अर्पण गरिने पारिजात स्मृति केन्द्रकी अध्यक्ष लक्ष्मी कुमारी मालीद्वारा २०७२ वैशाख ५ गते जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
पारिजात स्मृति केन्द्रले म्हैपी काठमाडौं स्थित आफ्नै कार्यालयभवनमा रहेको पारिजातको प्रतिमा अगाडि आयोजना गरेको सो कार्यक्रमको अध्यक्षता पारिजातकी बहिनी सुकन्या वाइवाले गर्नुभएको थियो । स्मृति केन्द्रका सदस्य सचिव बदन शर्माको संचालनमा अघि बढेको सो कार्यक्रमलाई नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, एमाओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा–माओवादीकी नेतृ पम्फा भूसाल र बाम बुद्धिजीवी श्याम श्रेष्ठ लगायतका अतिथिहरूले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा नेपालको वाम आन्दोलनमा क्रियाशील विभिन्न नेता, कार्यकर्ता तथा प्रगतिशील सांस्कृतिक आन्दोलनमा क्रियाशील विभिन्न साहित्यकार, कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो । सहभागी सबैले श्रद्धेय प्रगतिवादी साहित्यकार पारिजातको प्रतिमामा माल्र्यापण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.