चीन मामिला बिज्ञ

काठमाण्डौं – सन् १९९६ मा अध्ययनको लागि चिनको फुजियाङ प्रान्तको  सियामन बिश्वबिद्धालय बाट साईनोलोजी (चीनको भाषा, संस्कृती र सभ्यताको ) बारेमा दश बर्ष अध्ययनमा बिताएका चीन मामलकका बिज्ञ हुन दिनेश खनाल । 
नेपालमा लामो समय चलेको सशस्त्र बिद्रोहको शान्तिपुर्ण अवतरण सँगै देशमै केही गर्नुपर्छ भन्ने भावना बोकेर देश फर्किएका उनै खनाल सँग हाम्रा सहकर्मी तुलसी नेपालले समसामयिक बिषयमा केन्द्रित रहेर कुराकानी गरेका थिए । कुराकानिको सम्पादित अंश प्रस्तुत गरेका छौं: 

लामो समय चिनियाँ सभ्यता, संस्कृति र भाषाको अध्ययनमा लामो समय खर्चनुभएको ब्यक्ति आफ्नो सुरक्षित भबिष्य छोडेर नेपाल किन फर्कनुभयो ? 

म १९९६ मा चीन जाँदा नेपालमा हिंसात्मक सशस्त्र द्वन्द्वको सुरुवात भएको अवस्था थियो । म अध्ययनकै क्रममा रहँदा नै पूरा देश नै सशस्त्र संघर्षको चपेटामा पर्‍यो । २००६ मा जब शान्ति सम्झौता भयो, त्यस पश्चात् हामी जस्तो युवाले देशको बिकासको लागी केही योगदान गर्नुपर्छ भन्ने देश बिकासको पबित्र उदेश्य बोकेर देशको बिकासमा केही योगदान दिन सक्छु कि भनेर आफ्नो सुरक्षीत भबिष्य छोडेर पनि नेपाल फर्किएको हुँ । 

तपाईं जतिबेला चीन जानुभएको थियो, त्यो बेला चीन बिकासको चरम चरणमा थियो त्यो अनुभव देख्दा कस्तो महसुस हुन्थ्यो ? 

पक्कै पनि म जतिबेला अध्ययनको लागि चीन गए त्यो बेला चीन आफ्नो बिकासको चरम उत्कर्षमा थियो । उनिहरुको बिकास गर्ने तरिका र कार्यशैली हेर्दा मलाई पनि आफ्नो देशको बिकास यसरी कहिले गर्न सकिएला जस्तो लाग्थ्यो । बिकासको दीर्घकालीन सोच र लगानी देखेर आफू छुट्टै संसारमा पुगेको अनुभती हुन्थ्यो । आज पनि त्यो दिन सम्झदाँ छुट्टै इनर्जी आउँछ । म पनि त्यो देखेर चिनियाँ टेक्नोलोजी लिएर देश बिकासमा योगदान दिन सकिन्छ भनेर नै नेपाल फर्किएको हुँ । नेपाल फर्किएर के – के काम गर्नुभयो ? 

जुन उत्साहका साथ म आफ्नो देश फर्किए त्यस पश्चात् केही चिनियाँ प्रोजेक्टमा काम गरें, त्यसपछि आफ्नै कन्ट्रक्सन कम्पनी नै खोलेर आफ्नो काम गर्न सुरु गरें । तर बिडम्बना अहिले मेरो कन्ट्रक्सन कम्पनी बन्द भएको छ । जुन उत्साहका साथ म देश फर्किएको थिए त्यो उत्साह बिस्तारै कम हुँदै गै रहेको अनुभुती हुन्छ । 

जे सोचले नेपाल फर्कनुभयो, त्यो सोचमा सफल हुन सक्नुभएन त्यसको कारण के होला ? 

म जुन सोच, उत्साह र अपेक्षाको साथ नेपाल फर्किएको थिए त्यसो हुन सकेन । यसका विभिन्न कारण छन् । म जतिबेला चिनमा थिए त्यो बेला चिन आफ्नो बिकासको चरम उत्कर्षमा थियो । मलाई पनि अब देशमा ब्यबस्था परिवर्तन र शान्ति सम्झौता सँगै बिकासको नयाँ चरणमा प्रवेश गर्छौं जस्तो लागेको थियो । तर हामिले नेतृत्व त परिवर्तन गर्‍यौ तर नियत भने त्यस्तै रह्यो, राज्य संयन्त्रमा रहेका नीति निर्माण र नियमाक ठाउँमा रहेका ब्यक्तिहरुको सोच भने देश बनाउने भन्दा पनि आफैं बन्ने तिर गयो । भ्रष्टाचारले सिमा नाघेको छ । कुनै काम पाउनको लागि पहिला घुस बुझाउनुपर्ने बाध्यता छ । अनि कसरी हुन्छ देश बिकास अनि यस्तो बेथिति भित्र रहेर हामी जस्ता युवाको सोच कसरी पूरा हुन्छ ? 

चीन सँग हामिले वा हाम्रो देशले जति लाभ लिन सक्थ्यो त्यति लिन सकिएको छैन, यसको मुल कारण के होला ?

हेर्नुस आज बिश्वका हरेक देश चिनियाँ लगानी भित्र्याउन प्रतिस्पर्धा गरिरहेका छन् । चाहे त्यो सरकारी तवरबाट होस् वा निजि नै किन नहोस् । हामी छिमेकमा भएर पनि लाभ लिन नसक्नुमा राज्य संयन्त्र र हाम्रो नीति तथा मुल रुपमा हाम्रो कर्मचारीतन्त्र जिम्मेवार छ । कुनै पनि बिकास निर्माणको योजना अगाडि बढाउने ईच्छाशक्ति सँगै ब्यबहारिक पक्ष र पारदर्शीता महत्त्वपूर्ण कुरा हो । तर यहाँ त कमिसन बिना कुनै काम अगाडि बढाउनै सकिन्न अनि कसरी चिनियाँ मात्रै होइन अरु वैदेशिक लगानी आउँछ भन्नुस त ? चिनियाँहरु स्पष्ट योजना, प्रतिफलको सुनिश्चितता र आफ्नो काममा अवरोध चाहादैँनन हामी कहाँ यो सब कुराको कुनै ग्यारेन्टी नै छैन । 

अर्को महत्त्वपूर्ण कारण भनेको स्थायी शान्ति पनि हो जुन हामिकहाँ छैन । यहि कारण हामिले चिनबाट अपेक्षित लाभ हासिल गर्न नसकेको हो । 

स्थायी शान्तीको कुरा गर्नुभयो, हामी त संघीय लोकतान्त्रिक गणतन्त्र मा छौं अब पनि कुनै अशान्तिको अवस्था छ र ? 

रमाइलो प्रश्न गर्नुभयो, पक्कै पनि हामी संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य ब्यबस्थामा छौं तर यो मात्रै पनि महत्त्वपूर्ण कुरा होइन । अहिले पनि स्थायी शान्तीका लागि हामिले गर्नुपर्ने केही तर महत्त्वपूर्ण कार्य बाँकी नै छन् । संक्रमणकालिन न्यायको काम बाँकी नै छ । बालसैन्य लगायत अरु द्वन्द्व पिडितले न्यायको अनुभुती गर्न सकेका छैनन् । संक्रमणकालीन न्यायलाई नै लिएर `हेग´ सम्मका कुरा उठेका छन् । यस्ता कुराले हाम्रो राज्य संयन्त्रलाई प्रभावित पार्न सक्छ । यस्ता कुरामा हामी वा हाम्रो राज्य संयन्त्र जिम्मेवार हुन सकेन । यसले त देशको समग्र अवस्थालाई प्रभाव पार्छ नि ? 
अर्कोतिर अहिलेको राज्य ब्यबस्था प्रती नै प्रश्न उठाउँदै हिजोको सशस्त्र युद्धमा सहभागी एउटा ठूलो समूह आज पनि त्यही बाटोतर्फ अग्रसर छ भने राज्य पनि नियन्त्रणको नाममा बल प्रयोग र निशेधको नीति अगाडि बढाउँदै छ । अनि यसले चीन लगायत अन्तर्राष्ट्रिय स्तरमा हाम्रो कस्तो सन्देश जान्छ वा गै राखेको छ । त्यसैले स्थायी शान्ति बिना बिकास निर्माण वा वैदेशिक लगानी भित्र्याउने कुरा निकै कठिन छ । 

` वान बेल्ट, वान रोड ´ जस्तो महत्वाकांक्षी परियोजनामा समेत हामी सहभागी छौं, त्यसबाट अधिकतम लाभ लिने गरि हामी कसरी अगाडि बढ्न सक्छौ ? 

हो पक्कै पनि ` वान बेल्ट, वान रोड ´ २१ औं शताब्दीको सबैभन्दा ठूलो परियोजना हो । हामी त्यसको हिस्सा छौं निश्चय पनि यो गर्वको कुरा हो । तर यसबाट अपेक्षित लाभ लिनको लागि हामिले गर्नुपर्ने केही महत्त्वपूर्ण कुरा छन् , जस्तैः हाम्रो प्राथमिकतामा यो योजनालाई कसरी जोड्न सकिन्छ भनेर बृहत गृहकार्य गर्न आबश्यक छ । जस्तै चिनियाँ रेलको कुरा छ अब त्यसको बृस्तृत अध्ययन सहित हामिले हाम्रो दायित्व र चिन सँग हाम्रा अपेक्षाको बारेमा स्पष्ट पार्नुपर्छ । देशको बिकास बिदेशीले गर्दिने त हैन नि त्यसको लागि हामी आफैं कति जिम्मेवार छौं भन्ने कुरामा पनि भर पर्छ । अर्कोतिर पारवहन लगायतका सम्झौता पनि भएकाछ्न त्यसबाट कसरी अधिकतम लाभ लिन सकिन्छ त्यसको बारेमा अध्ययन गरि काम अगाडि बढाउन आबश्यक छ । चिनियाँ लगानी र प्रबिधी बिना देशको बिकास असम्भव छ भन्ने कुरालाई मनन गर्न आबश्यक छ । 

अन्त्यमा केही भन्न चाहानुहुन्छ ? 

हाम्रो देशको आन्तरिक समस्याको समाधान बिना बिदेशी लगानी आउने वा देश बिकास हुने कुरा केवल गफ मात्रै हुन । चीन सहितका देशबाट वैदेशिक लगानी भित्र्याउन हामिले स्थायी शान्ति र हाम्रो प्रशासनिक चरित्रलाई बदल्न आबश्यक छ । घुसखोर कर्मचारीतन्त्र र दीर्घकालीन योजना बिनाका बिकास निर्माणका योजनाले हामी बिकास समृदी हासिल गर्न सक्दैनौं, त्यसलाई मनन गर्न आबश्यक छ ।