बिबीसी – जनसङ्ख्या वृद्धि, बढ्दो मासुको खपत र बढ्दो आर्थिक क्रियाकलापले विश्वको जलस्रोतलाई कम गर्दै लगेको छ। विश्वका झण्डै ४०० क्षेत्रका मानिसहरू ‘उच्च जल सङ्कट’को अवस्थामा बाँचिरहेका वाशिङ्टनस्थित वर्ल्ड रिसोर्सेस इन्स्टिट्युट, डब्ल्यूआरआई,को नयाँ प्रतिवेदनमा जनाइएको छ।

पानीको कमीको कारण लाखौँ मानिसहरू विस्थापित हुनसक्ने र द्वन्द्व एवम् राजनीतिक अस्थिरताको कारण हुनसक्ने बताइएको छ। मेक्सिकोदेखि चिलीसम्म, अफ्रिकाका भूभाग र दक्षिण युरोपका पर्यटकीय गन्तव्यहरूमा जल सङ्कटको अवस्था चिन्ताजनक छ।

डब्ल्यूआरआईले उपलब्ध जलस्रोतको अनुपातमा जमिनमुनि र माथिबाट लिइने पानीको मात्राका आधारमा जल सङ्कटको अवस्था विश्लेषण गर्छ। विश्वको झण्डै एक तिहाइ जनसङ्ख्या अर्थात दुई अर्ब ६० करोड मानिसहरू उच्च जल सङ्कटको अवस्थामा रहेका छन्। डब्ल्यूआरआईका अनुसार ती मध्ये १७ देशमा एक अर्ब ७० करोड मानिसहरू उच्चतम जल सङ्कटको अवस्थामा रहेका छन्।

ती मध्ये एक दर्जन राष्ट्रहरू मध्यपूर्वको सुख्खा क्षेत्रमा रहेका देशहरू हुन्। भारतले भने ‘स्वास्थ्यदेखि आर्थिक विकाससम्म असर पर्ने गरी पानीको प्रयोग र व्यवस्थापन’को गम्भीर चुनौती भोगिरहेको प्रतिवेदनमा उल्लेख छ।

दक्षिण एशियामा उच्चतम जल सङ्कट भएका राष्ट्रहरूमा भारत र पाकिस्तान रहेका छन्। भारत विश्वको १३औं स्थानमा छ भने पाकिस्तान एक स्थान पछाडि रहेको छ। अफगानिस्तान २७ र नेपाल ४० दुवै उच्च जल सङ्कट भएको देशका रूपमा रहेका छन्। श्रीलङ्कालाई भने ७७औं स्थानमा न्यून–मध्यम जल सङ्कट भएको देश भनिएको छ।

पाकिस्तान, तुर्कमेनिस्तान र बोत्स्वाना पनि उच्चतम जल सङ्कटमा रहेको मानिएको छ। यो तथ्याङ्क डब्ल्यूआरआईको प्रतिवेदनमा आधारित हो। डब्ल्यूआरआईले उपलब्ध जलस्रोतको अनुपातमा जमिनमुनि र माथिबाट लिइने पानीको मात्राका आधारमा जल सङ्कटको अवस्था विश्लेषण गर्छ। त्यो अनुपात ८० प्रतिशतभन्दा बढी भएमा उच्चलम जल सङ्कट भएको मानिन्छ र ४० देखि ६० प्रतिशत भएमा उच्च जल सङ्कट भएको मानिन्छ।

तथ्याङ्कमा काम गर्ने व्यक्ति भएकोले म सङ्ख्याका बारेमा निष्पक्ष रहन्छु तर यो पटक भारतमा अति खराब अवस्थाले म चकित छु,’ प्रतिवेदनका मूल लेखक रुट्गर होफ्स्टेले बताए।

दक्षिण एशियामा उच्चतम जल सङ्कट भएका राष्ट्रहरूमा भारत र पाकिस्तान रहेका छन्। भारत विश्वको १३औं स्थानमा छ भने पाकिस्तान एक स्थान पछाडि रहेको छ। अफगानिस्तान २७ र नेपाल ४० दुवै उच्च जल सङ्कट भएको देशका रूपमा रहेका छन्। श्रीलङ्कालाई भने ७७औं स्थानमा न्यून–मध्यम जल सङ्कट भएको देश भनिएको छ।

१ अर्ब ७० करोडमानिसहरू उच्चतम जल सङ्कट भएका देशहरूमा बस्छन्। बांग्लादेश १२८ र भुटान १५५ मा भने जल सङ्कटको सम्भावना एकदमै कम देखिएको छ। भारतका ३६ मध्ये नौ राज्य र क्षेत्रमा उच्चतम जल सङ्कट रहेको देखिएको छ। तमिलनाडुको राजधानी चेन्नई हालैका दिनमा बाढी र सुख्खाको कारण आक्रान्त बनेको थियो।

चीनको राजधानी बेइजिङ् र रुसको राजधानी मस्को पनि उच्चतम जल सङ्कट भएको शहरहरू भनिएका छन् यद्यपी ती देशहरूमा भने त्यस्तो छैन। होफ्स्टेका अनुसार अन्य आश्चर्यहरूमा इटली र स्पेनका सहित दक्षिण युरोपका शहरहरूमा पर्यटनले गर्दा सुख्खा मौसममा देखिएको पानीको अत्यधिक उपयोग हो।

इटलीका २० मध्ये आधाभन्दा धेरै र टर्कीका ८१ मध्ये २७ क्षेत्रमा उच्चतम जल सङ्कटको अवस्था देखिएको छ। दक्षिण अफ्रिकाको वेस्टर्न केप, बोत्स्वानाको १० जिल्ला र नामिबिया र अङ्गोलाका भूभागहरूमा उच्चतम जल सङ्कटको अवस्था छ।

सन् १९६१ देखि २०१४ सम्ममा संसारभर झिकिएको पानीको मात्रा २.५ प्रतिशतले बढेको थियो। ती वर्षहरूमा सिँचाइका लागि पानीको माग दोबर भएको डब्ल्यूआरआईले बताएको छ। हाल ६७ प्रतिशत पानी सिँचाइका लागि प्रयोग गरिन्छ।

उद्योगहरूको उपभोग सन् १९६१ को तुलनामा सन् २०१४ मा तीन गुणा बढेको र हाल २१ प्रतिशत पानीको प्रयोग उद्योगहरूले गर्ने गर्छन्। पानीको घरेलु उपयोग १० प्रतिशत छ जुन सन् १९६१ को तुलनामा छ गुणा बढी हो।

पशुपन्छीका लागि थोरै मात्रै पानी प्रयोग हुन्छ तर होफ्स्टे भन्छन् सिँचाइमा प्रयोग हुने १२ प्रतिशत पानी वस्तुभाउको लागि आवश्यक बाली उब्जाउनका लागि प्रयोग हुने सन् २०१२ को तथ्याङ्कले देखाउँछन्। संसारको जल सङ्कट कम गर्न मासु कम खानुपर्ने होफ्स्टे बताउँछन्। ‘मलाई विश्वको जल सङ्कटको समस्याको समाधान सोधियो भने मैले भन्ने एउटा मुख्य कुरा मासुको खपत कम गर्ने हुनेछ,’ उनले भने।

केही संयु्क्त राष्ट्रसङ्घका निकायहरूले जलवायु परिवर्तनका कारण केही स्थानहरूको जलस्रोतको उपलब्धता बारे अनुमान गर्न गार्‍हो हुने बताएका छन्।विश्व स्वास्थ्य सङ्गठनका अनुसार बढ्दो तापक्रम र अनुमान गर्न नसकिने वर्षाको कारण खाद्य सुरक्षा समस्या रहेका धेरै विकासशील क्षेत्रहरूमा बालीको उत्पादन कम हुने बताएको छ।

त्यस्तै संयुक्त राष्ट्रसङ्घको अर्को प्रतिवेदनका अनुसार सन् २०३० सम्ममा पानीको समस्याका कारण साढे दुई देखि ७० करोड मानिसहरू विस्थापित हुनेछन्। डब्ल्यूआरआईका अनुसार धेरै उच्च जल सङ्कट भएका देशहरू द्वन्द्वमा भएका देशहरू हुन्। इजरायल, लिबिया, यमन, अफगानिस्तान र इराक त्यस्ता देशहरू हुन्।

तर होफ्स्टे भन्छन् तथ्याङ्कले जुन सामाजिक आर्थिक कारणले जल सङ्कट देखिएको छ त्यही कारणले जल व्यवस्थापन गरेर सङ्कट कम गर्न सकिन्छ। सिङ्गापुर र इजरायल त्यस्तो उदाहरण भएको उनले बताए। उनले भारतजस्ता देशहरूले पनि सिङ्गापुर र इजरायलबाट सिकेर आफ्नो जल सङ्कटलाई व्यवस्थापन गर्न सक्ने बताए।

‘जल सङ्कट निश्चित होइन, खाली एउटा सङ्केत हो,’ होफ्स्टेले भने। ‘देशले यो सङ्कटलाई कसरी व्यवस्थापन गर्न भन्नेमा यसको भविष्य निर्भर गर्छ।’