कैद मिनाह गरेर पुर्ननिर्माणमा जुट्न अवसर प्रदान गर्न आग्रह

0

काठमाडौ । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका कैदी बन्दीहरुले बैशाख १२ गते आएको विनासकारी महाभुकम्पबाट देश रोईरहेको बेलामा आफूहरुको बाँकी कैद मिनाह गरेर पुर्ननिर्माणमा जुट्न अवसर प्रदान गर्न आग्रह गरेका छन ।
प्रधानमन्त्री सुशील कोइरालालाई संबोधन गरेर बुझाईएको ज्ञापन–पत्रमा कैद भुक्तान गरिरहेकाहरुलाई बाँकी रहेको कैद मिनाह र विचाराधीन रहेका मुद्दाहरुलाई छिटो किनारा लगाएर राष्ट्रमा उत्पन्न यो विपत घडीमा पुर्ननिर्माणको कार्यक्रममा सहयोग गर्ने मौका दिन आव्हान गरिएको छ ।
ज्ञापन–पत्रमा भुकम्पले भवन जीर्ण हुँदा १६ जना कैदी बन्दीको निधन भइसकेको र अन्य पनि जोखिमपूर्ण भवनहरुमा मृत्यु कुरेर बस्न बाध्य भएको भन्दै उनीहरुको जीवन बचाउने र राष्ट्रमा परेको संकट समाधानमा आफूहरुको पनि कर्तब्य हो भन्ने बोध गर्ने अवसर प्रदान गर्नु पर्ने उल्लेख छ ।
त्यसैगरी कैदी बन्दीहरुले आफूहरु एक मात्र सहारा रहेको आफ्नो परिवार समेत घर ध्वस्त भएर विचल्लीमा परहेको यो अवस्थामा आफूहरुको परिवारप्रतिको कर्तब्य पनि निर्वाह गर्ने अवसर दिनुपर्ने माग पनि उनीहरुले गरेका छन ।
राष्ट्रपति, संविधानसभा अध्यक्ष, राष्ट्रिय मानवअधिकार आयोग, गृहमन्त्री, कानूनमन्त्री, नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, आईसीआरसी र कारागार ब्यवस्था विभागलाई बोधार्थ दिईएको सो ज्ञापनपत्र कैदी बन्दीहरु लालबहादुर तामाङ्ग, मुरारी धमला, पशुपति बराल, गजेन्द्र खड्का, हरि पाण्डे, सर्दिप गौचन, ईमान बम्जन र युवराज केसीले संयुक्त रुपमा पठाएका हुन ।

Leave A Reply

Your email address will not be published.