भरत दाहाल।
बैशाख १२ गतेको भू–कम्प नेपालको संक्रमणकालिन परिस्थिति, सत्ता राजनीतिको चरित्र र यहाँको भू–राजनीतिक अवस्थालाई प्रत्यक्षिकरण गर्ने महत्वपूर्ण निमित्त कारणका रुपमा पनि देखा पर्यो । यसले संक्रमणकालको अर्थलाई परिभाषित गर्न मद्दत गरेको छ, सत्ताको चरित्रलाई उजागर गर्न भूमिका खेलेको छ र भू–राजनीतिक धरातल डरलाग्दो वैदेशिक छिनाझपटीमा परेको छ भन्ने तथ्यलाई प्रष्ट पारेको छ । नेपालको संक्रमणकाल, मूलभूत रुपमा, बाहिरी शक्तिहरुको शक्ति परिक्षणकालसंग संबन्धित छ । यहाँको सत्ता भनेको त्यहि शक्ति परिक्षणलाई व्यवस्थापन गर्ने दलाल संरचना हो र जुन चिजलाई हामी ‘भू–राजनीतिक अवस्था’ भनिरहेका छौं, यो सारतः बाहिरी शक्तिहरुले तयार पारेको यस्तो विषाक्त रसायन हो, जसले नेपाललाई ‘ममी’का रुपमा बदल्न खोजिरहेको छ ।
नेपालको संक्रमणकाललाई यहाँका जातिय समुदायहरुका बीचको कथित अन्तर्विरोधसंग जाडेर धमिलोमा खेल्दै आएका विदेशी शक्ति र तिनका दलालहरुको नियोजित प्रचारलाई महा भू–कम्पको प्रभावको सामना गर्नका लागि देश÷परदेशमा उर्लेको नेपालीहरुका बीचको आत्मियता एवं एकजुटताले पूर्ण रुपमा असत्य सावित गरिदिएको छ । राज्य र दलहरुप्रतिको चरम अविश्वासको प्रतिकृयाका रुपमा उद्धार र राहतका लागि जनस्तरबाट भएको पहलले इतिहासका सबै रेकर्डहरु भंग गरेको छ र उद्धार तथा राहतका बहानामा केहि विदेशी शक्तिहरुबाट योजनाबद्ध रुपमा संगठित गरिएका नेपाल विरोधि कृयाकलापहरुको विरोधमा देखापरेको संगठित आवाजले आम नेपालीहरुमा राष्ट्रियताप्रतिको बुझाईमा कुनै प्रकारको द्विविधा वा विरोधाभाष नरहेको यथार्थतालाई छर्लङ्ग पारिदिएको छ ।
विपत्तिबाट उत्पन्न समस्याको सामना गर्नका लागि जनस्तरबाट स्वतःस्फूर्त रुपमा सुरु भएको अभियानले जाति र वर्गको भेद देखाएन । तेरो र मेरो गाउँ÷शहर भनेन । इलाकिय प्रवृतिलाई स्थान दिएन । धर्म-सँस्कृतिलाई प्रोत्साहित गरेन । देश÷विदेशका नेपालीहरुका बीचमा न दलहरुले राज्यको कथित पुनर्संरचनाका नाममा विकास गर्न खोजेको साम्प्रदायिक जहरको प्रभाव पर्न सक्यो न त यसका आधारमा राहतको आवाज उठेको सुनियो । नेपालीहरुले कुत्सित सत्ता राजनीतिका विरुद्धमा व्यवहारतः आफ्नो दृढ अभिमत जाहेर गरेका छन् । बरु यथार्थतामा के देखियो भने कुनै न कुनै प्रकारको भेदभावको आधारलाई बलियो बनाउने र त्यसका आडमा आफ्नो अबान्छित उपस्थितिलाई सुदृढ गर्ने प्रयासमा विदेशी शक्तिहरु र तिनीहरुको दानमा चलेका गैरसरकारी संस्थाहरु लागिरहेका छन् ।
अबका दिनहरुमा केन्द्रीत हुनुपर्ने सबैभन्दा ठूलो समस्याका रुपमा भू–कम्पको प्रभावले उजागर गरेका ३ वटा वास्तविकताहरु सतहमा आएका छन् । पहिलो वास्तविकता हो– नेपालको समस्याका मूख्य श्रोत भनेका दल, सत्ता र शासन प्रणालि हुन् । दोश्रो तथ्यका रुपमा कुन कुरा उजागर भएको छ भने ०६३ सालपछि राज्यको संस्थागत अस्तित्वको पतन भैसकेको छ र यो अब केवल ‘व्यक्तिगत’ अस्तित्वका रुपमा सिमित हुन पुगेको छ । तेश्रो तथ्य कस्तो देखिएको छ भने प्राकृतिक विपत्तिका बेलामा आउने मानवीय सहयोग समेत राजनीतिक दाउपेचबाट परिभाषित गरिने हुँदा यसलाई राष्ट्रिय–राजनीतिक एवं सामाजिक औचित्यको संदर्भबाट मात्र हेर्नुपर्ने हुन्छ । अझ नेपाल जस्तो संक्रमणकालिन समाजमा त वैदेशीक सहयोगको प्रकृति प्रायसः सद्भावमा आधारित हुँदै हुँदैन ।
भू–कम्प पिडीतहरुको उद्धार र राहतको खोल ओढेर गरेर यूरोपीयन राष्ट्रहरुको मूख्य जोड पिडीतहरुका बीचमा ‘बाइबल’ वितरण गर्ने कुरामा केन्द्रीत रहेको देखियो । उनीहरुले शारिरीक पिडाले अस्पतालमा छटपटाईरहेका मानिसहरुका हातमा ‘बाइबल’ थमाउनेसम्मको घृणित व्यवहार देखाए । गैरसरकारी संस्थाहरुलाई सरकारको समन्वयभन्दा बाहिरबाट राहत बाँड्न गर्न पाउनुपर्ने माग गर्न लगाएर समानान्तर सत्ताको अभ्यास गर्न प्रयास गरिरहेका छन् । इसाई धर्माबलम्बिहरु बढी भएका ठाउँमा राहत वितरणमा देखाएको अभिरुचीसंगै वक्तव्यका रुपमा घोषणा गरिएको आर्थिक-भौतिक सहयोग आवश्यक समयमा उपलब्ध नगराईनाले के कुराको संकेत गरिरहेको छ भने घोषित सहयोग कार्यान्वयन गर्नका लागि तिनीहरुबाट राजनीतकि स्वार्थसंग जोडिएका सर्तहरु उपस्थित हुनेवाला छन् ।
उद्धार कार्य, राहतको आपूर्ति र समाचार संकलनका लागि आएका भनिएका भारतीयहरुको कृयाकलाप त यस्तो देखियो कि मानौं उनीहरु कुनै युद्धका लागि आएका छन् र एउटा विजेताका रुपमा नेपालमा आफ्नो कृयाकलाप देखाईरहेका छन् । सिमा सुरक्षा बलको ड्रेसमा आएर उनीहरु नेपाल सरकारसंगको समन्वय र अनुमति विना सिधै चीनको हवाई सिमा यसरी अतिक्रमण गर्नपुगे कि मानौं नेपालको उत्तरी सिमाना भारतको सिमाना हो । सिमा सुरक्षा बलको ड्रेसमा चिनियाँ सिमा अतिक्रमण गरेका्े कुराले भारतीयहरुमा रहेको यहि कुत्सीत मानसिकताको प्रतिनिधित्व गर्दछ । उद्धार गरिरहेको प्रचार गर्दै उनीहरुले हेलिकोप्टरहरुलाई कैयौं दिनसम्म आफ्ना नागरीक भारत ओसार्ने र पत्रकार घुमाउने काममा लगाए । नेपालका सूचनाहरु बटुल्नु त तिनीहरुको नियमित काम बन्यो ।
भारतीय पत्रकारहरुले पोखरामा प्रहरीमाथि गरेको हातपात उनीहरुको जंगलीपना र साम्राज्यवादी चरित्रको पराकाष्ठा हो । पत्रकारलाई नक्कलि सर्जन बनाएर पिडीतको सफल सल्यकृया गरेको भिडीओ जारी गरेको घटनाले त उनीहरुको विकृत मानसिकतालाई छरपष्ट पारिदिएको छ । गत बुधबार भारतको लोकसभामा नेपालमा आएको भू–कम्पलाई चीनका तर्फबाट भारतमाथि उत्पन्न भएको सुरक्षा चुनौतिका रुपमा व्याख्या गरिनु, नेपाल भू–कम्पको असरबाट पूरै नउठ्दासम्म भारतीय सेना फर्कन नहुने भन्ने व्यहोराका लेखहरु भारतीय मिडीयाहरुमा प्रकाशित हुनु, नेपालमा आएका भारतीय सैनिकहरु ब्यारेकको संरचनामा बस्नु जस्ता कुराहरुले भारतीय पक्षको सहयोग बद्नियतपूर्ण रहेको र भू–कम्पलाई बहाना बनाएर नेपालमा स्थायी अड्डा जमाउन खोजेको तथ्यमाथि प्रकाश पार्दछन् ।
यी यावत् प्रकारका दृष्यहरुका बीचमा सबैभन्दा बढी खट्कीएको विषय हो– एउटा संस्थाका रुपमा रुपमा राज्यको अस्तित्व नदेखिनु । जो जो विदेशी शक्तिहरु अनुसाशनमा रहे, ती स्वविवेकले मात्र रहे । जो रहन चाहेनन्, तिनीहरुलाई राज्यले प्रश्न गर्नसम्म सकेन । एउटा विदेशीबाट आफ्नो देशको प्रहरीमाथि हातपात हुँदा समेत् तमासा हेर्ने राज्यलाई अबान्छित बाह्य शक्तिहरुले कस्तो व्यवहार गरे होलान भन्ने अनुमान गर्न कसैलाई गाह्रो छैन । यस्तो व्यवहार अकारण भएको छैन । जहाँका शासकहरुले अत्यावश्यक सामानको उत्पादनका लागि एउटा उद्योग खोलेका छैनन् र सकृय जनशक्ति सबै विदेश धपाएका छन्, जहाँ जनताबाट उठेको कर लुट्नका लागि मारकाट मात्र हुन्छ र जसले कुर्सिका लागि तिनै विदेशीहरुको पाउ मोलि रहन्छन् तिनीहरुलाई सम्मान गर्नुपर्ने कारण विदेशीहरुले देख्दैनन् ।
भू–कम्पले ल्याएको विपत्तिमा सहयोगका नाममा देखापरेका कतिपय बाह्य देशका यस प्रकारका गतिविधिहरु नेपालको राजनीतिका छायाँहरु हुने भन्ने कुरामा संका गर्नु पर्दैन । नेपालमा ‘शान्ति’ स्थापित गर्ने ब्यानरमा विगत ९ बर्षदेखि जुनजुन शक्तिहरुले यहाँको राजनीतिमा नांगो हस्तक्षेप गर्दै आएका छन्, तिनैको व्यवहार अहिले पनि आपत्तिजनक देखापरेको छ । तिनीहरुले भू–कम्पलाई पहिलेदेखि जारीरहेकोे आफ्नो हस्तक्षेपकारी राजनीतिक दाउपेचलाई अरु सुदृढ गर्ने हतियारका रुपमा उपयोग गर्ने प्रयास गरेका छन् । यस्ता कृयाकलापहरु अझ गहिरा भएर जानेछन् । तसर्थ, वैदेशिक सहयोगलाई कसरी बुझ्ने, राज्यविहिनताको समस्यालाई कसरी हल गर्ने र पुनर्निर्माणको कामलाई कुन रुपमा व्यवस्थापन गर्ने भन्ने प्रश्नमा जनस्तरबाटैको प्रयास संगठित गरेर आसन्न खतराको चक्रब्यूहलाई तोड्न जरुरी छ ।