तत्कालिन एसएसपी खत्री जेलमै
काठमाण्डौं – सनम शाक्य हत्या र ३३ केजी सुन बेपत्ता प्रकरणमा सर्वोच्च अदालत पुगेका २० जना थुनुवामध्ये १९ जनाविरुद्ध यसअघि भएको आदेश सदर भएको छ । सर्वोच्चको आदेशपछि तत्कालिन एसएसपी श्याम खत्रीसहित १९ जना पुर्पक्षका लागि थुनामै रहने भएका छन् । पुनरावेदन अदालत विराटनगरले गरेको आदेशविरुद्ध सर्वोच्च अदालतमा भएको सुनुवाईपछि उच्च अदालतले गरेको एउटा आदेश मात्र बदर भएको छ ।
महाविर गोल्यानलाई सर्वोच्चले १० लाख धरौटीमा छाड्ने आदेश दिएको हो । उच्च अदालत विराटनगरका बाँकी सबै आदेश सर्वोच्चले सदर गरेको हो । थुनामा रहेका राजकुमार तिवारी, राजकुमार तिवारी, राजन थापा, हेमन्त गौतम, सन्भिरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, गोपाल प्रसाद श्रेष्ठ, अमरमान डंगोल, लाक्पा शेर्पा, श्यामबहादुर खत्री , पुन्य लामा, राज महर्जन,छिरिङ वाङ्देन घले, भुजुङ गुरुङ, दोर्जङ खत्री, विरेन्द्रमान श्रेष्ठ , तुलाराम, कपिलराज पुरी , राजकुमार तिवारी र सन्जय खेतानविरुद्ध विराटनगर उच्च अदालतले गरेको आदेश सर्वोच्चले सदर गरेको हो ।
यसअघि जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राखेका अभियुक्तलाई छाडेको भन्दै विराटनगर उच्च अदालतका न्यायाधिश विवादमा आएका थिए । एसएसपी दिवेश लोहनीसहित थुप्रै प्रहरी अधिकारीलाई उच्च अदालतले साधारण तारेखमै छाड्दै जिल्लाको आदेश बदर गरेको थियो ।
मोरङ जिल्ला अदालतले कर्तव्य ज्यान, संगठित अपराध र सुन तस्करीलगायत कसुरमा मुद्धा चलाएको थियो । ३३ केजी सुनको भरिया भनिएका सनमको हत्या भएको थियो । सुन लुकाएको आरोपमा तस्करको समूहले सनमको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । बेपत्ता सुन अझै फेला पर्न सकेको छैन । यो प्रकरणपछि सरकारले त्रिभुवन विमानस्थलबाट हुने गरेको सुन तस्करीसमेतलाई जोडेर बृहत अनुसन्धान गरेको थियो । अनुसन्धानले त्रिभुवन विमानस्थलबाट ३८ क्विन्टल सुन तस्करीमार्फत भित्रिएको तथ्य बाहिर ल्याएको थियो ।