काठमाण्डौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्कीले सरकार र आफ्नो पार्टीबीच वार्ताको विकल्प नभएको बताएका छन् । केही महिनाअघि सरकारद्वारा पक्राउ गरिएका नेता कार्कीले आज (१६ साउन) महानगरीय प्रहरी परिसर टेकुमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सो धारणा राखेका हुन् ।
नेता कार्कीले देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्ण रुपमै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिएका राससले जनाएको छ ।
आफू वार्ताको पक्षमा रहेको र वार्ताकै लागि विभिन्न सम्पर्क सूत्रमार्फत प्रयास गर्दैगर्दा पक्राउ परेको जानकारी दिँदै उनले वार्ताका लागि राज्य गम्भीर हुनुपर्ने तर्क अघि सारे ।
पार्टीको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति भएको र छापामार युद्ध नरहेको जिकिर गर्दै उनले भने, ‘एकीकृत जनक्रान्ति भनेको किसान, मजदूर, मध्यमवर्ग र राष्ट्रिय पूँजीपति वर्गलाई एकीकृत ढङ्गले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने हो, कतिपय साथीहरुले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नुभएको छ ।’
आफूले पार्टीका महासचिव चन्दलाई समेत पार्टीमा केही कुराहरु सच्याउन र कार्यदिशाअनुसार शहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने तथा राष्ट्रिय जागरण फैलाउने अभियान गर्नुपर्ने सुझाव दिएको खुलासाा पनि उनले गरे । आफ्नो समूहको केही कमजोरी भएको समेत उनले स्वीकार गरेका बताइएको छ ।
नेकपाले सञ्चालन गरेको विध्वंसात्मक घटनामा संलग्न रहेको आरोपमा नेता कार्कीलाई गत चैत १ गते ललितपुरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।