काठमाण्डौं – आज बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि बिना निष्कर्ष टुंगिएको छ । सभामुख कृष्णबहादुर महराले बोलाएको उक्त बैठक विना निष्कर्ष टुंगिएको हो ।

संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सुचारू गर्नुपर्छ भन्नेमा सबै दलहरु सकारात्मक देखिए पनि आ–आफ्नै अडानमा कायम रहेपछि सहमति जुट्न नसकेको हो । सर्वदलीय छलफल निष्कर्षमा पुग्न नसकेपछि सचिवालयले सूचना टाँसेर ‘अवरुद्ध सदन सुचारु गर्न दलहरुबीच छलफल जारी रहेकाले बस्ने नसक्ने हुँदा’ बैठक स्थगित गरिएको जनाएको छ ।

बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बवङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा मुख्य सचेतक देव गुरूङ तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँण, नेता मिनेन्द्र रिजाल, राजपाका तर्फबाट राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति थियो ।

नेत्रविक्रम चन्द्र विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागी मृत्यु भएको घटना छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले असार २४ गतेदेखि सदन अवरुद्ध गर्दै आएका छन् । पौडेल लालबन्दी नगरपालिका लखनदेहीको जंगलमा प्रहरीसँगको मुठभेडमा मारिएको भन्ने सरकारी दाबी सही नभएको भन्दै कांग्रेसले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै आएको छ । त्यसैगरी सर्लाहीको श्रीनगरस्थित बाँके खोलामा अवैध बालुवा खन्ने क्रममा बनेको खाल्डोमा डुबेर बालक अमित कुमार रायको मृत्यु भएपछि भएको प्रदर्शनका क्रममा प्रहरीे चलाएको गोली लागि सिंहको मृत्यु भएको थियो ।

बाढी पहिरो सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्नका लागि साउन ८ गतेको बैठक भने सुचारु भएको थियो ।