यस्ता छन् छलफलका मुख्य एजेण्डा

काठमाण्डौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । काँग्रेस र राजपाको विरोधका कारण निरन्तर अवरुद्ध हुँदै आएको संसद बैठक आज २ बजेका लागि बोलाइएको छ ।

संसद सचिवालयले बैठकको लागि सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । आजको बैठकमा विभिन्न प्रतिवेदनहरु पेश हुनेछ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले ‘भूउपयोग विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव पनि पेश गर्ने तैयारी छ ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्नुहुनेछ । ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पनि पेश गर्ने कार्यक्रम छ ।

आजैको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले ‘प्रशासकिय अदालत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्नुहुने कार्यक्तम छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले “वातावरण संरक्षण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्नेछिन ।

यस्तै, आजैको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘प्रहरी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।