नवनियुक्त पर्यटनमन्त्रीको प्रतिबद्धता


काठमाण्डौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको इज्जत र जनताको अपेक्षा पूरा गर्नेतर्फ आफूले ध्यान केन्द्रित गर्ने बताएका छन् ।

मन्त्रालयमा बुधबार पदभार ग्रहणपछि आयोजित स्वागत समारोहमा मन्त्री भट्टराईले भने, “तपाईँहरुले मलाई काम लगाउनुहुनेछ, कस्तो काम गर्दा मुलुकको इज्जत बढ्छ, प्रधानमन्त्रीले र जनताले सोचेको अपेक्षा पूरा हुन्छ, के गर्दा चुनौतीमाथि सफलता हाँसिल हुन्छ, भोलिका दिनमा विषयगत हिसाबले छलफल गरेर जानेछु ।”

केही दिनभित्रैमा प्रधानमन्त्रीसमक्ष मन्त्रीको हिसाबले कामको करार सम्झौता गर्ने उल्लेख गर्दै मन्त्री भट्टराईले भने, “हामी जे गर्न सक्छौँ, त्यो कुरा भन्छौँ, जे हुन सक्दैन, त्यो के कारणले भएन भनेर पारदर्शी ढङ्गले बताउने छौँ ।” निर्देशन कम हुने र सामूहिक निर्णयबाट अघि बढ्ने बताउँदै उहाँले प्रधानमन्त्रीले राखेको आशा र अपेक्षा पूरा गर्र्ने उल्लेख गरे ।

कुनै पूर्वघोषित कार्यक्रम नभई परिस्थितिले आफू मन्त्री हुन आइपुगेको प्रष्ट्याउँदै उनले कसैलाई काम लगाउन होइन काम सिक्न आएको बताए । राष्ट्रिय गौरवका आयोजनालाई समयमै सक्ने तथा सन् २०२० को नेपाल भ्रमण वर्ष साकार पार्ने मन्त्री भट्टराईले प्रतिबद्धता जनाए ।

मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कुनै कसर बाँकी नराख्ने मन्त्री भट्टराईको भनाई थियो । नेपाल वायुसेवा निगमको विश्वसनियता कायम गर्नेसमेत उनले प्रतिबद्धता जनाए । सञ्चारमाध्यमलाई कुनै पनि बधाई नछाप्न अनुरोध गर्र्दै उनले मन्त्रीका रुपमा नियुक्तिका लागि सहयोग गर्ने पार्टीका नेतृत्वप्रति आभार प्रकट गरे ।