काठमाण्डौं – २०७४ साल फागुन २८ मा काठमाडौँमा भएको यूएस–बंगला विमान दुर्घटनाका पीडितले २ अर्ब बढी क्षतिपूर्तिको माग गर्दै काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस–बंगला एयरलाइन्स लिमिटेडको विमान दुर्घटना हुँदा मृत्यु भएका ७ जना एमबीबीएस विद्यार्थीका हकवाला तथा तिनका बाबुआमाले वायुयान धनी सञ्चालक कम्पनीविरुद्ध १९ मिलियन ९० हजार डलर अर्थात (२ अर्ब १० करोड रुपैयाँ) बढी क्षतिपूर्ति रकम मागसहित काठमाडौँ जिल्ला अदालतमा मुद्धा दायर गरेका हुन् । दुर्घटना भएको १६ महिनासम्म पनि कम्पनीको तर्फबाट अन्तर्राष्ट्रिय कानुनअनुसार मागदाबी गरिएको क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरेकाले बाध्य भई पीडितहरुले न्यायालयमा मुद्दा दायर गरेको मुद्दा हेरिरहेका अधिवक्ता अमृत खरेलले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएका एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबाबुले मुद्दा दायर गरेको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । जसमा २० जना वादी रहेको उनले बताए ।

युएस बंगलाको विमान बंगलादेशको ढाकाबाट काठमाडौं आउने क्रममा दुर्घटनामा परेको थियो । विमानमा सवार ७१ यात्रुमध्ये ५१ जनाको मृत्यु भएको थियो । जहाजमा ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभियन यात्रु थिए भने बाँकी बंगाली क्रु मेम्बर थिए ।